• असार २४, २०८३, बुधवार Wednesday, 08 July, 2026

ब्राजिल बाहिरिएसँगै नेयमार द्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास घोषणा

  • खबरदाता

ब्राजिल बाहिरिएसँगै नेयमार द्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास घोषणा

ब्राजिलका स्टार स्ट्राइकर नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। सोमबार बिहान विश्वकपको अन्तिम १६ को खेलमा नर्वेसँग २(१ ले पराजित हुँदै ब्राजिल विश्वकपबाट बाहिरिएपछि नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका हुन्।

३४ वर्षीय फरवार्डले ब्राजिलको राष्ट्रिय टोलीका लागि १२९ खेलमा ८० गोल गर्दै देशको इतिहासकै सर्वाधिक गोलकर्ता खेलाडीका रूपमा आफ्नो अन्तर्राष्ट्रिय करिअर टुंग्याएका छन्।

खेलपछि भावुक हुँदै नेयमारले भने, ‘मैले प्रयास गरेँ। मैले साँच्चिकै धेरै प्रयास गरेँ। मेरो यात्रा यही मेटलाइफ स्टेडियमबाट सुरु भएको थियो, र यहीँ आएर समाप्त भयो। अब सबै कुरा सकियो।’ यस सँगै ब्राजिलको राष्ट्रिय टोलीसँग उनको लामो र अविस्मरणीय यात्रा पनि औपचारिक रूपमा अन्त्य भएको छ।

नेयमारले सन् २०१० मा ब्राजिलको सिनियर राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए। उनले चार वटा विश्वकप खेले भने दुई ओलम्पिकमा पनि ब्राजिलको प्रतिनिधित्व गरे। सन् २०१२ मा उनले रजत पदक जिते भने सन् २०१६ मा टोलीलाई ऐतिहासिक स्वर्ण पदक दिलाउँदै कप्तानका रूपमा नेतृत्व गरेका थिए।

सन् २०२६ को विश्वकपमा भने नेयमारले दुई खेलमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका थिए। समूह चरणमा स्कटल्यान्डविरुद्ध दोस्रो हाफमा खेल्दै प्रतियोगिताको सुरुआत गरेका उनले नर्वेविरुद्ध इन्जुरी समयमा पेनाल्टीमार्फत प्रतियोगितामा आफ्नो एकमात्र गोल गरेका थिए।

उता, ब्राजिललाई स्तब्ध पार्दै क्वार्टरफाइनल पुगेको नर्वेले अब जुलाई ११ मा मियामी स्टेडियममा हुने खेलमा मेक्सिको र इंग्ल्यान्डबिचको खेलको बिजेतासँग सेमिफाइनल प्रवेश भिडन्तमा प्रतिस्पर्धा गर्ने छ।

  • प्रकाशित मिति : असार २२, २०८३, सोमवार ०६:१९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८