काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्ना नवनिर्वाचित सांसदहरूलाई पार्टी अनुशासनमा रहन चेतावनी दिएका छन् ।
नवनिर्वाचित सांसदहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले पार्टीले विधानमा व्यवस्था गरेको ‘राइट टु रिकल’ यसपटक कडाइका साथ लागू गर्ने घोषणा गरेका हुन् ।
सांसदहरूलाई जिम्मेवारीवोध गराउने उद्देश्यले आयोजित अभिमुखीकरणमा लामिछानेले सरकारको गणितीय अवस्था जस्तोसुकै भए पनि अनुशासनहीनता सह्य नहुने बताए । रास्वपाभित्र सिंगो देशको अनुहार रहेको र विभिन्न पृष्ठभूमि (व्यापार, विद्यार्थी, युवा, महिला, सीमान्तकृत वर्ग, सामाजिक अभियन्ता, कलाकार, पूर्व प्रशासक आदि) बाट आएका व्यक्तिहरू रहेको भन्दै उनले यो विशाल परिवारलाई एउटै ट्र्याकमा लैजान अनुशासनको अत्यन्त ठूलो खाँचो रहेको औँल्याए ।
यस्तो छ लामिछानेको भनाइ :
सरकार दुईतिहाइको छ, संख्या घट्ला अथवा सरकार बहुमतमा रहन्छ, अल्पमतमा पर्ला भन्ने कुराको परवाह नगरीकन रास्वपाले जन्मदेखि आफ्नो विधानमा स्थापित गरेको ‘राइट टु रिकल’को व्यवस्थालाई यसपटक कडाइका साथ लागु गर्नेछ । तपाईंहरूको स्वतन्त्रता हनन गर्ने पार्टीको कुनै उद्देश्य छैन । तपाईं स्वतन्त्रताको सदुपयोग गर्नुहोस् तर अनुशासित भएर । अनुशासनका लागि पार्टीले आफूलाई स्थापित गराउँछ । न्युज एजेन्सी नेपाल
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८