• जेठ १०, २०८३, आइतवार Sunday, 24 May, 2026

यो पाँच वर्षलाई सामान्य अन्य चुनावहरूमा चुनेको जस्तै नसोच्नुस्-रवि लामिछाने

  • खबरदाता

यो पाँच वर्षलाई सामान्य अन्य चुनावहरूमा चुनेको जस्तै नसोच्नुस्-रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेतृत्व र जनता बीचको दूरी खतरनाक रूपमा बढिरहेको भन्दै आफ्ना सांसदहरूलाई सचेत रहन आग्रह गरेका छन्।

पार्टीको अभिमुखीकरण कार्यक्रम समापनका क्रममा सम्बोधन गर्दै उनले चुनावका बेला मात्र जनता सम्झिने प्रवृत्तिले जनविश्वास घट्दै गएको बताए। यस्तो अवस्था कायमै रहे भविष्यमा जनताले नेताको अभिवादनसमेत स्वीकार नगर्ने अवस्था आउन सक्ने उनले चेतावनी दिएका हुन्।

‘नेतृत्व र जनता बीचमा ठूलो खाडल छ। कयौँ नेताहरूसँग जनता नजिक हुनै चाहँदैनन्। किनभने उनीहरूलाई यो आफ्नो मान्छे हो भन्ने नै लाग्दैन। आज घर घरमा हामी जनतालाई नमस्कार गर्न पुगेका छौं, भोलि तिनलाई गरेको नमस्कार पनि नफर्काउने ठाउँमा तपाईँ हामी पुग्न सक्छौं’ उनले भने।

उनले सांसदहरूलाई जनतासँग निरन्तर जोडिएर काम गर्न र विश्वास जित्ने गरी पाँच वर्ष काम गर्न निर्देशन दिए।

‘त्यो हुनुहुँदैन भोलि त्यस्तो नेतृत्व हामीले खोजेको होइन। तपाईँहरूको निधारको अवीर पनि कतिको त नुहाउँदा पनि गएको छैन। कतिपय अहिले पनि अबिर माला लगाइरहनुभएको छ हो त्यस्तै सेलिब्रेसन नेपाली जनताले अबको पाँच वर्ष प्रत्येक दिन गर्नेगरी तपाईँले काम गर्नुपर्छ। माननीय भयो भनेर केक काट्नुभयो होला सेलिब्रेसन गर्नुभयो होला खानपिन गर्नुभयो होला। त्यस्तै उत्सव जनताले पाँच वर्ष मनाउनुपर्छ तपाईँलाई चुनेकोमा मलाई चुनेकोमा।’

लामिछानेले यो पाँच वर्षलाई सामान्य रूपमा नलिन पनि आग्रह गर्दै परम्परागत ढंगले राजनीति गर्ने प्रवृत्तिबाट टाढा रहन सुझाए।

‘यो पाँच वर्षलाई सामान्य अन्य चुनावहरूमा चुनेको जस्तै नसोच्नुस्। राजनीति यसैगरी चल्छ भनेर काहीँ कतै मानिसहरू त्यही ढंगले लागेका छन्। तर त्यसका पछि नलाग्नुस्।’

  • प्रकाशित मिति : चैत ४, २०८२, बुधवार १५:२६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८