निर्वाचन प्रचारप्रसारका लागि आवश्यक रकम खर्च गर्न हालसम्म ६७१ उमेदवारले मात्रै बैंक खाता खोलेका छन् ।
कुल ३ हजार ४०६ उमेदवारमध्ये ६७१ जनाले बैंक खाता खोलेको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । यो कुल उमेदवारको करिब २० प्रतिशत हो ।
‘बैंक तथा वित्तीय संस्थाका प्रमुखहरूले हालसम्म दिएको तथ्यांकअनुसार कुल ३ हजार ४०६ जना उमेदवारहरूमध्ये ६७१ जनाले बैंकहरूमा खाता खोलिसक्नुभएको छ, भट्टराईले भने, त्यो संख्या भनेको करिब २० प्रतिशत हुन आउँछ ।
राजनीतिक दल तथा उमेदवारहरूले प्रचारप्रसारका लागि आवश्यक रकम अनिवार्य रूपमा बैंक खातामार्फत जम्मा र खर्च गर्नुपर्ने व्यवस्था आयोगले गरेको छ । प्रवक्ता भट्टराईका अनुसार, आयोगको अनुरोधमा नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई उमेदवारहरूको बैंक खाता खोल्न सहजीकरण गर्न परिपत्र जारी गरेको छ ।
हाल देशभर राजनीतिक दल र उमेदवारहरूले बैंक खाता खोल्ने प्रक्रिया अघि बढाएको भट्टराईले जानकारी दिए । उमेदवारहरूलाई खाता खोल्ने क्रममा देखिएका समस्याका बारेमा बैंक तथा वित्तीय संस्थाबाट जानकारी संकलन गरी आयोगले आवश्यक सहजीकरण गर्ने उनको भनाइ छ ।
खोलिएका खाताको सञ्चालन प्रयोजन, व्यवस्थापन प्रक्रिया र बैंकहरूले निर्वाह गर्नुपर्ने सहजीकरणबारे स्पष्टता दिन आयोगले सोमबार छलफल कार्यक्रम आयोजना गरेको थियो ।
बैंक तथा वित्तीय संस्थाहरूले निर्वाचन खर्च पारदर्शी र व्यवस्थित बनाउन लागु गरिएको बैंक खाता प्रणालीमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको उनले बताए । बैंक तथा वित्तीय संस्थाहरूबाट यो विषयमा आयोगको अपेक्षाअनुसार नै गर्ने गरी कुराकानी आएको छ, उनले भने ।
वित्तीय सुशासन कायम गर्ने सन्दर्भमा बैंक तथा वित्तीय संस्थाहरूले आयोगको अपेक्षाअनुसारको नै सहयोग गरेको उनको भनाइ छ ।
मतदाता शिक्षालाई प्रभावकारी बनाउन बैंक तथा वित्तीय संस्थाले सञ्चालन गर्ने मोबाइल एप, एटीएम मेसिनलगायतका डिजिटल डिस्प्लेहरूमा मतदाता शिक्षा सामग्री समावेश गर्न आयोगले अनुरोध गरेको भट्टराईको भनाइ छ । यसमा बैंक तथा वित्तीय संस्थाहरू सकारात्मक रहेको उनले बताए । न्युज एजेन्सी नेपाल
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८