• फागुन ३०, २०८२, शनिवार Saturday, 14 March, 2026

सदरमुकामदेखि एक सय किलोमिटर टाढा छन् मतदान केन्द्र

  • रासस

सदरमुकामदेखि एक सय किलोमिटर टाढा छन् मतदान केन्द्र

मुस्ताङ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुस्ताङमा कायम भएका कतिपय मतदानस्थल तथा केन्द्र सदरमुकाम जोमसोमदेखि एक सय किलोमिटरभन्दा बढी टाढा दूरीमा छन् ।

नेपाल–चीन उत्तरी कोरलानाकास्थित माथिल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा कायम गरिएका मतदानस्थलहरू एक सय किलोमिटरभन्दा बढी दूरीमा रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

लोमान्थाङ गाउँपालिकामा ६ वटा मतदानस्थल छन् । जहाँ दुई हजार ११ जना मतदाता छन् । यहाँका सबै मतदानस्थलमा पुग्न सदरमुकाम जोमसोमदेखि सवारीसाधनमार्फत करिब ६र७ घण्टा समय लाग्ने जिल्ला निर्वाचन अधिकारी लोकेन्द्र ज्ञवालीले जानकारी दिए । यहाँ लोमान्थाङ–२ समजुङ मतदानस्थल सारेर सोही वडाको छोसेरस्थित दिव्य माध्यमिक विद्यालय मतदानस्थलमा गाभिएको जिल्ला निर्वाचन अधिकारी ज्ञवालीले बताए ।

कोरला सडक मार्गसँग जोडिएका मतदानस्थल र शाखा सडकमा रहेका मतदानस्थल सवारीसाधनको सहज पहुँचमा छैनन् ।

लोघेकर दामोदरकुण्ड गाउँपालिकाका मतदान केन्द्रहरूको दूरी पनि एक सय किलोमिटर दूरीमा छन् । कोरला सडकअन्तर्गत घिलिङ, घमी, चराङलगायतका मतदानस्थलहरू राष्ट्रिय राजमार्गसँग जोडिएकाले यातायात आउजाउमा सहज भए पनि अन्य मतदानस्थलहरू टाढा रहेकाले त्यहाँ पुग्न जोमसोमदेखि घण्टौँ लाग्ने जनाइएको छ ।

मतगणनास्थलदेखि जोमसोमसम्म मतपेटिका ल्याई पुर्‍याउन राति १२ बजेसम्म समय लाग्ने बताइएको छ । माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका पाँच वडामा एक हजार ५४२ जना मतदाता छन् ।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाअन्तर्गतका मतदान केन्द्र तथा मतदानस्थलहरूको दूरी जोमसोमबाट करिब ५० किलोमिटर छ । दुई हजार ८८५ मतदाता यस पालिकामा छन् ।

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यहाँका पाँच स्थानीय तहमा ३९ मतदानस्थल कायम गरिएका छन् । यहाँ कुल ११ हजार ३२८ जना मतदाता छन् । रासस

  • प्रकाशित मिति : फागुन ४, २०८२, सोमवार ०६:३८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८