आसन्न प्रतिनिधिसभा निर्वाचन– २०८२ को शान्ति सुरक्षा खलल पुर्याएको आरोपमा ‘द डेन्जरस स्कुल’ नामक समूहका २५ युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापाका अनुसार शनिबार दिउँसो वीरेन्द्रनगर नगरपालिका– ११ स्थित धुलियाबिटनजिक तीनकुने चोकहुँदै धुलियाबिटतर्फ जाँदै गरेको अवस्थामा उनीहरू पक्राउ परेका हुन् ।
तातोपानी क्षेत्र (वीरेन्द्रनगर–३) मा आधारित उक्त युवा क्लबका सदस्यहरूले स्थानीय प्रशासनको अनुमतिबिना कालो–सेतो झण्डा बोकी मोटरसाइकलमा र्याली निकालेका थिए ।
प्रहरीका अनुसार र्यालीका क्रममा उनीहरूले हो–हल्ला गर्दै सार्वजनिक शान्ति खलल पुर्याउने गतिविधि गरेको र निर्वाचन आचारसंहिता तथा निर्वाचन कानुनले निषेध गरेको कार्यमा उनीहरू संलग्न थिए । उक्त गतिविधिले आसन्न निर्वाचनको शान्ति सुरक्षामा असर पर्ने देखिएपछि तत्काल हस्तक्षेप गरिएको प्रवक्ता बुढथापाले बताए ।
घटनापछि जिल्ला प्रहरी कार्यालय सुर्खेत र नगर प्रहरी कार्यालयबाट खटिएको ३० जनाको संयुक्त प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । प्रहरीले ८ वटा मोटरसाइकल र ४ वटा स्कुटीसमेत नियन्त्रणमा लिएको जनाएको छ ।
नियन्त्रणमा लिइएका सबै २५ जनालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८