• असोज ३०, २०८३, शुक्रवार Friday, 16 October, 2026

पोखराको पहिलो जित, रोकिएन जनकपुरको हार शृंखला

  • खबरदाता

पोखराको पहिलो जित, रोकिएन जनकपुरको हार शृंखला

विपिन खत्री र सुमित वर्माको उत्कृष्ट प्रदर्शनमा पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित दर्ता गरेको छ । बिहीबार पोखराले त्रिवि क्रिकेट मैदानमा साविक विजेता जनकपुर बोल्ट्सविरुद्ध २५ रनको जित निकाल्यो ।

जितसँगै पोखराले तीन खेलमा दुई अंक जोडेको छ । तीनै खेलमा पराजित जनकपुर अंकविहीन छ । पोखराले प्रस्तुत गरेको १ सय ५६ रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभर नै ब्याटिङ गरे पनि ९ विकेट गुमाउँदै १ सय ३० रन मात्र बनाउन सक्यो ।

जनकपुरका लागि वायने पार्नेलले रिटायर्ड हर्ट हुनुअघि ३८ बलमा चार छक्का र दुई चौकाको मद्दतले ५० रन बनाए । यसैगरी सञ्जय कृष्णमुर्तिले २५, माज सदाकतले २० र ललितनारायण राजववंशीले अविजित १० रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

पोखराका लागि विपिनले चार ओभरमा १५ रन खर्चिएर चार विकेट लिए । यसैगरी सुमितले दुई तथा जिम्मी निशम र कप्तान कुशल भुर्तेलले एक–एक विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ रोजेको पोखराले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५५ रनको योगफल तयार पारेको थियो ।

पोखराका लागि सुमित वर्माले २९ बलमा चार छक्का र दुई चौकाको मद्दतले अविजित ५० रनको योगदान गरे । यसैगरी दिनेश खरेलले ३८, तृतराज दासले २९ र एडम रोसिङ्गटनले २४ रन बनाए । जनकपुरका लागि सञ्जय कृष्णमुर्तिले तीन तथा ललितनाराण राजवंशी र कप्तान अनिलकुमार साहले एक–एक विकेट लिए ।

  • प्रकाशित मिति : मंसिर ११, २०८२, बिहीवार १९:४० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८