• जेठ ३०, २०८३, शनिवार Saturday, 13 June, 2026

भोलि र पर्सि नारायणी सहितका नदीमा बाढीको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह

  • खबरदाता

भोलि र पर्सि नारायणी सहितका नदीमा बाढीको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले शनिबार र आइतबार उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । शुक्रबार सामाजिक सञ्चालमार्फत महाशाखाले अहिले देशका प्रमुख नदीहरूको जलसतह सामान्य रहे पनि शनिबार दिउँसोदेखि नदीहरूमा जल बहाब बढ्न सक्ने बताएको छ ।

महाशाखाले वाग्मती, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

महाशाखाका अनुसार, शनिबार राति नवलपरासी (पश्चिम), नवलपरासी (पूर्व), तनहुँ, लमजुङ, गोरखा, धादिङ, चितवन, मकवानपुर, बारा, पर्सा, रौतहट, सर्लाही, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे र सिन्धुलीसहित आसपासका जिल्लामा बाढीको जोखिम छ ।

महाशाखाले यी क्षेत्रका बासिन्दालाई शनिबार राति विशेष सावधानी अपनाउन र सुरक्षित स्थानमा रहन आग्रह गरेको छ ।

आइतबार कुन नदीमा जोखिम ?
महाशाखाका अनुसार, आइतबार बिहानदेखि बेलुकीसम्मको अवधिमा ठूला नदी र तिनका शाखा नदीहरूमा पनि बहाब उल्लेख्यरूपमा बढ्ने सम्भावना छ । खासगरी, नारायणी, कालीगण्डकी, सेती, मादी, मर्स्याङ्दी, दरौँदी, त्रिशूली, पूर्वी राप्ती, वाग्मती, कमला र आसपासका नदीहरूमा बहाब बढेर सतर्कताको तह नजिक पुग्न देखिएको छ ।

यसैगरी, आइतबार रातिदेखि जल प्रणाली विस्तारै पूर्वतर्फ सर्ने क्रममा कोसी, कन्काईलगायत नदी जलाधारका क्षेत्रमा समेत बहाब उल्लेख्य बढ्न सक्ने पूर्वानुमान गरिएको छ ।

महाशाखाले वर्षाका कारण बाढी र डुबान हुन सक्ने तथा पहिरो जान सक्ने क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

 

  • प्रकाशित मिति : असोज १७, २०८२, शुक्रवार २०:३८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८