• जेठ १७, २०८३, आइतवार Sunday, 31 May, 2026

तुइन खोला पहिरो : ६० प्रतिशत पन्छाइयो, रातिसम्म सवारी सञ्चालनको तयारी

  • खबरदाता

तुइन खोला पहिरो : ६० प्रतिशत पन्छाइयो, रातिसम्म सवारी सञ्चालनको तयारी

मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५, तुइन खोला पुलनजिक पहिरो पन्छाउने कार्य जारी छ । हालसम्म करिब ६० प्रतिशत पहिरो पन्छाइएको सडक डिभिजन भरतपुरले जनाएको छ ।

“काम गर्ने क्षेत्र साँघुरो भएकोले गर्दा एकपटकमा दुवैतर्फबाट कुल पाँचवटा उपकरणले मात्रै काम गर्न सक्ने अवस्था रहेको छ,” सडक डिभिजनले बिहीबार (असोज ९) दिउँसो पौने ३ बजे जारी गरेको सूचनामा उल्लेख छ ।

पहिरो पन्छाउने क्रममा नारायणगढ साइडतर्फ ठूलाठूला ढुंगाका कारण केही कठिनाइ भएको सडक डिभिजनले जनाएको छ ।

“पहिरोको थुप्रोमा ढुंगाहरूको मात्रा बढी भएको र स–साना तिखा ढुंगाहरूका कारण टायर पन्चर हुने, ढुंगाले लागेर अपरेटर घाइते हुनेजस्ता समस्याहरूले गर्दा सोचेअनुसारको प्रगति हुन नसकिएकोले हेभी इक्प्युमेन्ट डिभिजन हेटौँडा र डुम्रेबाट दुईजना अपरेटरहरू पनि थप गरिएको छ,” सडक डिभिजनले भनेको छ ।

कुनै बाधा नभए बिहीबारै रातिसम्म सबै पहिरो हटाई सवारीसाधन सञ्चालनमा ल्याउने तयारी छ । “कुनै पनि बाधा आई नपरे निरन्तर रूपमा कार्य गर्न सकिएको खण्डमा सम्भवतः आज रातिसम्ममा पूर्ण रूपमा पहिरो हटाई आवागमन सञ्चालनमा ल्याउने आकलन गरिएको छ,” सडक डिभिजनले भनेको छ ।

यही असोज ७ गते दिउँसो करिब सवा ३ बजेदेखि उक्त सडक अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।

 

  • प्रकाशित मिति : असोज ९, २०८२, बिहीवार १५:४५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८