• असोज ३०, २०८३, शुक्रवार Friday, 16 October, 2026

धरान उपमहानगरले ल्यायो २ अर्ब २० करोडको बजेट

  • खबरदाता

धरान उपमहानगरले ल्यायो २ अर्ब २० करोडको बजेट

मोरङ – स्थानीय तहले असार १० गतेभित्रै बजेट ल्याउनुपर्ने कानुनी व्यवस्था भए पनि सुनसरीको धरान उपमहानगरपालिकाले तीन महिना ढिलो गरी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ।

शनिबार आयोजित १७ औं नगरसभामा उपप्रमुख अइन्द्रविक्रम बेघाले कुल २ अर्ब २० करोड ७४ लाख ५९ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका हुन्।

बजेटको स्रोतका रूपमा आन्तरिक राजस्वबाट ८० करोड ५३ लाख ६५ हजार रुपैयाँ, संघीय सरकारको अनुदानबाट ८९ करोड २९ लाख रुपैयाँ, प्रदेश सरकारको अनुदानबाट ७ करोड ७३ लाख ४४ हजार रुपैयाँ र राजस्व बाँडफाँटबाट ३४ करोड १८ लाख ५० हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

यसबाहेक, सडक बोर्डबाट २ करोड र गत वर्षको मौज्दातबाट ७ करोड रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको छ।

उपप्रमुख बेघाले सहरी योजना तथा भौतिक पूर्वाधार विकासका लागि सबैभन्दा धेरै ६६ करोड ९४ लाख रुपैयाँ विनियोजन गरिएको बताए। त्यसैगरी, शिक्षा, युवा तथा खेलकुदका लागि रु. ४६ करोड ८५ लाख, स्वास्थ्यका लागि रु. ६ करोड ९९ लाख ९५ हजार, र सामाजिक विकासका लागि रु. ४ करोड ८६ लाख ४५ हजार छुट्याइएको छ।

आर्थिक विकासका लागि रु. १ करोड २९ लाख, वन, वातावरण, ऊर्जा तथा विपद् व्यवस्थापनका लागि रु. २ करोड ७४ लाख ५० हजार, कानुन तथा न्याय सम्पादनका लागि रु. २० लाख, सार्वजनिक जग्गा संरक्षणका लागि रु. १५ लाख र राजस्व परिचालनका लागि रु. ४३ लाख विनियोजन गरिएको छ। यसका साथै, नगर भिजन कार्यक्रमका लागि रु. ५ करोड ५ लाख विनियोजन गरिएको छ। चालु आर्थिक वर्षका लागि धरानका २० वटै वडामा रु. २१ करोड विनियोजन गरिएको छ।

उपप्रमुख बेघाले शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, सामाजिक विकास र विपद् व्यवस्थापनजस्ता क्षेत्रलाई बजेटले उच्च प्राथमिकता दिएको जानकारी दिए।

  • प्रकाशित मिति : असोज ४, २०८२, शनिवार १७:२६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८