• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026

मानव अधिकार आयोगले भन्योः सञ्जाल बन्द गर्ने निर्णयमा पुनर्विचार गर

  • खबरदाता

मानव अधिकार आयोगले भन्योः सञ्जाल बन्द गर्ने निर्णयमा पुनर्विचार गर

राष्ट्रिय मानव अधिकार आयोगले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयमाथि पुनःविचार गर्न सरकारलाई निर्देशन दिएको छ। आयोगले शुक्रबार विज्ञप्ति जारी गर्दै नियमन र व्यवस्थापनका लागि वैकल्पिक उपाय अवलम्बन गरेर बन्द गर्ने निर्णय फिर्ता लिन आग्रह गरेको हो।

सरकारले बिहीबार बेलुकादेखि नेपालमा दर्ता नभएका २६ वटा सामाजिक सञ्जाललाई बन्द गर्ने निर्णय गरेको छ।

आयोगका प्रवक्ता डा। टिकाराम पोखरेलले जारी गरेको विज्ञप्तिमा भनेका छन्, ‘आमनागरिकको जीवनको अभिन्न अङ्ग बनिसकेको सामाजिक सञ्जाल बन्द गर्दा आमनागरिकमा पर्न सक्ने प्रभावको आँकलन गर्दै सामाजिक सञ्जाल बन्द गर्न भनी सरकारले गरेको निर्णयमाथि पुनर्विचार गर्न तथा सामाजिक सञ्जालहरु नियमन र व्यवस्थापनका लागि वैकल्पिक उपाय अवलम्बन गरी नेपालको संविधान तथा अन्तर्राष्ट्रिय कानूनमा व्यवस्था भएका अधिकारहरुको उपभोगको सुनिश्चितता गर्न आयोग नेपाल सरकारलाई निर्देशन गर्दछ ।’

सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयले यसका प्रयोगकर्ताहरुमा असर पार्ने मात्रै नभइ लोकतान्त्रिक शासन व्यवस्थाको मर्म र मानव अधिकारको मूल्यमान्यता विपरीत हुन जाने आयोगको ठरह छ। सरकारको यस्तो कार्यले संविधान प्रदत्त नागरिकका विभिन्न मौलिक हकमाथि आघात पुगेको ठहर आयोगले गरेको छ। नियमन र व्यवस्थित गर्ने नाममा सामाजिक सञ्जाललाई प्रतिबन्ध लगाउने कार्य उचित नभएको आयोगको भनाइ छ।

‘नियमन र व्यवस्थित गर्ने नाममा लामो समयदेखि सञ्चालनमा रहेका र आमनेपालीको अभिव्यक्ति र सञ्चारको जीवनशैली बनिसकेको सामाजिक सञ्जालहरु बन्द गर्ने निर्णयबाट आमउपभोक्तामा असर पर्न गएको देखिएको छ, आयोगले अगाडि भनेको छ,

‘यस प्रकारको कार्यले नेपालको संविधानले व्यवस्था गरेको अभिव्यक्ति स्वतन्त्रताको हक (धारा १७) सञ्चारको हक (धारा १९), सूचनाको हक (धारा २७) जस्ता मौलिक हकहरुको सङ्कुचन हुनुका साथै मानव अधिकारको विश्वव्यापी घोषणापत्र, १४८ को धारा १९ र नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय प्रतिज्ञापत्र, १९६६ को धारा १९ मा उल्लेख गरिएको अभिव्यक्ति स्वतन्त्रताको अधिकारको प्रतिकूल समेत हुन जाने स्पष्ट छ ।’

  • प्रकाशित मिति : भदौ २०, २०८२, शुक्रवार १५:५० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८