• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026

कोशी, बागमती र गण्डकीका केही भूभागमा भारी वर्षाको सम्भावना

  • खबरदाता

कोशी, बागमती र गण्डकीका केही भूभागमा भारी वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । साथै मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ अवस्थित रहेको छ ।

महाशाखाका अनुसार अहिले देशभर साधरणतया बदली रहेको छ । कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर साधारणतया बदली रहने छ । कोशी, बागमती र लुम्बिनीलगायत देशका पहाडी भूभागका धेरै स्थान तथा तराई भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

यस्तै, आज राति लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागमा साधारणतया बदली रही बाँकी तराई भूभागमा आंशिक बदली रहने छ । लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागका केही स्थान तथा तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।

केही प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

आज सूर्योदय बिहान ५ बजेर २५ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ५५ मिनेटमा हुनेछ ।

  • प्रकाशित मिति : साउन १३, २०८२, मंगलवार ०७:१० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८