राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन स्वेच्छाचारी हुँदै गएको भन्दै उपाध्यक्ष मुकुन्दश्याम गिरी निर्वाचन आयोग पुगेका छन् । उनले आफूलाई उपाध्यक्ष र केन्द्रीय सदस्य पनि नरहने गरी पार्टीबाट कारबाही गरिनु दुखद् भएको बताउँदै कानुनी उपचार खोज्ने आयोग आइपुगेको बताए ।
“विधान विपरीत क्रमशः निलम्बन गर्ने प्रक्रिया सुरु भएको छ । मलाई पनि उपाध्यक्ष र केन्द्रीय सदस्यबाट अध्यक्षले सामाजिक सञ्जालबाट जानकारी पाएँ,” उनले भने, “मेरो राजनीतिक छबि धुमिल गर्ने काम भएकाले मप्रति भएको अन्यायप्रति निवेदन लिएर आएको छु । यसरी गरिएका सम्पूर्ण कारबाहीहरु विधानतः नभएका कारणले प्रक्रिया नमिलेका कुरा सुधार गर्नुपर्छ भन्ने हाम्रो धारणा छ।”
उनले कारबाहीको प्रक्रिया नै नमिलेको बताउँदै भने, “जीवनभरिको लगानी एकैपटक खारेज गर्न मिल्दैन । कसलाई कारबाही गर्नुछ भने पनि प्रस्ताव केन्द्रीय समिति हुँदै अनुशासन समितिमा जानुपर्छ, सफाइको अवसर दिनुपर्छ । अनुशासन समितिले कार्यसम्पादन समितिमा लैजानुपर्छ । त्यसपछि अध्यक्षले निर्णय गर्न सक्छन् तर अहिले स्वेच्छाचारी र एकलौटी ढंगले अध्यक्ष गए ।”
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८