• भदौ ७, २०८३, आइतवार Sunday, 23 August, 2026

नेपालमा फेरि देखियो कोरोना, सात जनामा संक्रमण पुष्टि

  • खबरदाता

नेपालमा फेरि देखियो कोरोना, सात जनामा संक्रमण पुष्टि

नेपालमा पछिल्लो एकहप्तामा कम्तिमा पनि सातजनामा कोरोना संक्रमण पुष्टि भएको छ । चीन र भारतमा देखिएको कोरोना नै नेपालमा फैलियो हो या नयाँ भेरियन्ट हो भन्ने बारेमा अहिलेसम्म सरकारले केही बताएको छैन ।

स्वास्थ्य मन्त्रालयले आइतबार नेपालमा देखिएको नयाँ भेरियन्टका बारेमा छलफल गरेको थियो । सीमा नाका, हवाई नाकाहरुमा हेल्थ डेस्क राखेर चेकजाँच सुरु भइसकेको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ ।

“हामीले नाकामा किटसहितको व्यवस्था गरेर चेकजाँच थाल्न निर्देशन दिइसकेका छौँ,” स्वास्थ्य मन्त्रालय स्रोतले भन्यो ।

कोरोना देखिएकामध्ये सबैजसो काभ्रेका हुन् । धुलिखेलमा चेकजाँचको क्रममा कोरोना पुष्टि भएको हो । सातै जनालाई अहिले टेकुमा ल्याइएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रकाश बूढाथोकीका अनुसार अहिले नेपालमा देखिएको कोरोना नयाँ भेरियन्ट हो भन्ने पुष्टि भइनसकेको बताए ।

“काभ्रेमा देखिएपछि हामीले सबैलाई अहिले टेकुमा ल्याएका छौँ,” उनले भने, “अहिलेसम्मको चेकजाँचका क्रममा नयाँ भेरियन्ट होइन भन्ने लागेको छ ।”

उनका अनुसार यसअघि पनि फाटफुट कोरोना पुष्टि भए पनि अहिले एकैठाउँमा सात जनालाई देखिँदा सतर्कता बढाइएको छ ।

“हामीले सतर्कता अपनाएका छौँ,” उनले भने, “यो हप्ता ६–७ जना संक्रमित देखिए । सबैजना धुलिखेलमा देखिएको हो । अहिले उनीहरुलाई टेकुमा ल्याएका छौँ । हामीले थप परीक्षणपछिमात्रै नयाँ भेरियन्ट हो वा होइन भन्ने बताउन सक्छौँ ।”

उनका अनुसार अहिले पनि थप चेकजाँच बढाइएको छ । स्वास्थ्य मन्त्री प्रदिप पौडेलको सचिवालयले दिएको जानकारीअनुसार आइतबार पनि मन्त्रीले यसबारेमा निर्देशन दिइसकेका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी सन्तोष सुवेदीले पनि पछिल्लो २४ घण्टामा एक जनामा कोरोना पुष्टि भएको बताए । तर, यो नियमित प्रक्रिया भएको उनको भनाइ छ ।

‘डराइहाल्नुपर्ने स्थिति होइन, नियमित प्रक्रियाअन्तर्गत नै एक जनामा कोरोना देखिएको हो । अहिले छिमेकी राष्ट्र भारतमा कोरोना देखिएकाले नेपालमा पनि एक प्रकारको डर छ । तर, डराउनुपर्ने अवस्था छैन । नयाँ भेरियन्ट भनेर पुष्टि भइसकेको अवस्था होइन, उनले भने ।

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सरुवारोष विशेषज्ञ डा। शेरबहादुर पुनले भारतमा देखिएको कोरोनाको भेरियन्ट संक्रामक रहेको तर डराइहाल्नुपर्ने स्थिति नरहेको बताए ।

‘भारतमा म्युटेसन हुँदैहुँदै गएर फरक खालको प्रजाति देखिएको हो । नयाँ प्रजाति कस्तो हुन्छ भनेर सबैको चासो हुन्छ । तर, घातक चाहिँ देखिएको छैन । नेपालमा देखिहाले पनि डराउनुपर्दैन । सजगता चाहिँ अपनाउनैपर्छ, डा. पुनले भने ।

  • प्रकाशित मिति : जेठ १४, २०८२, बुधवार ०६:२० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८