• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026

ताप्लेजुङ घटनाका मृतक सबैको सनाखत

  • खबरदाता

ताप्लेजुङ घटनाका मृतक सबैको सनाखत

ताप्लेजुङमा मृत्यु भएका चारै जनाको सनाखत भएको छ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार मृत्यु हुनेमा ललितपुर ललितपुर महानगरपालिका–१० की १६ वर्षीय आध्या आचार्य छिन्। झापा भद्रपुर नगरपालिका–१५ का ७० वर्षीय विनोद पौडेल र उनकी श्रीमती ६९ वर्षीया सरिता पौडेलको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

त्यस्तै ताप्लेजुङ फुङलिङ नपा–१० का चालक अन्दाजी ४२ वर्षीय दुर्गा भट्टराईको पनि मृत्यु भएको छ।

घटनामा ललितपुर महानगरपालिका १० बस्ने ४५ वर्षीया सबिना आचार्य गम्भीर घाइते भएकी छन्।

उनको १० वर्षीय छोरा भबिमय आचार्य पनि घाइते भएका छन्। उनी बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जानकारी दिएको छ।

ताप्लेजुङ सदरमुकाम फुङ्लिङबाट पाथीभरा मन्दिर दर्शनका लागि गइरहेको गाडीमा सोमबार बिहान आगलागी हुँदा चार जना यात्रुको मृत्यु भएको थियो।

जिल्ला प्रहरी ताप्लेजुङको अनुसार मे १ च ३०११ नम्बरको बोलेरो गाडीमा फुङ्लिङ नगरपालिका–१० सेवारोचोकमा एक्कासि आगलागी भएको थियो।

सोमबार बिहान करिब ५ः०० बजे विद्युतको पोलबाट चुँडिएको तार सडकमा झरेको र उक्त तारमा गाडी अल्झिँदा अचानक आगो लागेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ।

सूचना अधिकारी बस्नेतका अनुसार आगलागीको जानकारी प्राप्त हुनासाथ प्रहरी निरीक्षक रवि रावलको कमाण्डमा १५ जनाको टोली तत्काल घटनास्थलमा पुगेको थियो।

घाइतेलाई तत्काल उद्धार गरी जिल्ला अस्पताल पठाइएको जनाइएको थियो। उनीहरूलाई हेलिकप्टरबाट काठमाडौं ल्याउने तयारी भइरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

  • प्रकाशित मिति : वैशाख ८, २०८२, सोमवार ०८:३४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८