• फागुन ३, २०८१, शनिवार Saturday, 15 February, 2025

ढुङ्गेधारामा बाह्रै महिना पानी झार्ने ललितपुर महानगरको योजना

  • रासस

ढुङ्गेधारामा बाह्रै महिना पानी झार्ने ललितपुर महानगरको योजना

ललितपुर । ललितपुरका प्राचीन धरोहर लिच्छवीकालीन ढुङ्गेधारामा बाह्रै महिना पानी झार्ने योजना शीघ्र कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दै ललितपुर महानगरपालिकाले लगनखेलबाट टीकाभैरवसम्म राजकुलो पुनर्निर्माण सुरु गरेको छ ।

राजकुलो विस्तारका लागि महानगरले रु २२ करोड बजेट छुट्टयाएको छ । महानगरका प्रमुख चिरिबाबु महर्जनले लगनखेलबाट टीकाभैरवसम्मको १४।२ किलोमिटर राजकुलो विस्तार जारी रहेको तथा हालसम्म रु छ करोडको लागतमा तीन दशमलव ४४ किलोमिटर कुलो खनिएको जानकारी दिए । विसं २०२७ सालमा चक्रपथ विस्तार गर्ने क्रममा कुलो मासिएको उनले बताए ।

लगनखेलको सप्ताताल पोखरी पुनः निर्माण गरी राजकुलोको पानी त्यहाँ जम्मा गरिने र त्यहाँबाट आसपासका ढुङ्गेधारामा पानी झार्ने महानगरको योजना उनले सुनाए । महानगरप्रमुख महर्जनका अनुसार ललितपुरमा हालसम्म ५० भन्दाबढी ढुङ्गेधारा छन् ।

आल्को हिटी, कोन्टी हिटी, च्यासः हिटी, टङ्ग हिटी, पुच्व हिटी, जावलाखेल हिटी, लगनखेल हिटी, गइटल हिटी र मङ्गल हिटी सातौँ शताब्दीमा निर्माण भएका हुन् । मङ्गल हिटीमा बाह्रैमास पानी आउने गरेको छ । ललितपुर महानगरपालिका–६ सुन्धाराका सन्तमान महर्जनले ढुङ्गेधारामा बाह्रै महिना पानी ल्याउने योजना चाँडोभन्दा चाँडो कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

ललितपुर महानगरपालिका–६ र वडा नं १७ मा पर्ने सुन्धारा टोलमा अवस्थित लिच्छीविकालदेखिको ऐतिहासिक सुन्धारा (लँ हिति) अहिले सुकेको छ । तीनवटा धारा रहेको सुन्धारामा सात महिना मात्रै पानी आउने स्थानीय राज श्रेष्ठले बताए ।

ललितपुरको सम्पदा र पहिचान जोगाउन ‘ऐतिहासिक ढुङ्गेधारा संरक्षण गर्नु सबैको दायित्व’ निर्वाह गर्नुपर्ने ठानेर २०६५ सालमा ललितपुर महानगरपालिका र स्थानीय जनसमुदायले लँ हिटी पुनर्निर्माण गरेका थिए । पुनः निर्माणपश्चात बाह्रैमास धारामा पानी झरे पनि केही वर्ष यता पानी आउन छाडेको छ ।

ललितपुरका स्थानीय राजकुलो भत्काएर विभिन्न संरचना निर्माण गरिँदा ऐतिहासिक ढुङ्गेधारा सुक्ने अवस्थामा पुगेको बताउँछन् । ललितपुर महानगरपालिका–६ का स्थानीय रमेश श्रेष्ठले घर तथा सडक निर्माण गर्दा राजकुलो जोगाउनुपर्ने बताए । लिच्छिवीकालदेखिको इतिहास बोकेका ढुङ्घेधारा संरक्षण गर्नु ललितपुर महानगरसहित जिम्मेवार निकायले ध्यान दिनुपर्नेमा उनले जोड दिए ।

  • प्रकाशित मिति : माघ १, २०८१, मंगलवार १५:२८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८