भरतपुर– महिला यू-१९ विश्वकपको लागि नेपाली टिमको बन्द प्रशिक्षण शुरू भएको छ। भरतपुर महानगरपालिका– १५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमूना खेल मैदानमा टोलीले बुधबार प्रशिक्षण थालेको हो।
माघ ५ गतेदेखि मलेसियामा महिला यू-१९ विश्वकप प्रतियोगिता हुँदैछ। त्यसको तयारीस्वरुप चितवनमा पुस २२ गतेसम्म बन्द प्रशिक्षण जारी रहने प्रमुख प्रशिक्षक महेशप्रसाद रिजालले जानकारी दिए। बन्द प्रशिक्षणमा ‘ब्याटिङ, बलिङ, फिटनेस’लाई ध्यान दिइने उनले बताए।
टोलीका व्यवस्थापक विनोद दासले चितवनको क्रिकेट मैदान अन्तर्राष्ट्रियस्तरको रहेकाले यहाँ प्रशिक्षणको व्यवस्था गरिएको बताए। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले नेपाली टोलीको सफलताको कामना गर्दै प्रशिक्षार्थीलाई महानगरका तर्फबाट आवश्यक सहयोग गर्न तयार रहेको बताइन्।
नेपाल क्रिकेट संघ ९क्यान०का उपाध्यक्ष रोशन सिंहले भरतपुर महानगरपालिकाको प्रयास र क्यानका अध्यक्षको समन्वयमा चितवनमा बन्द प्रशिक्षण गर्न लागिएको बताए। सन् २०२७ मा नेपालमा हुने महिला यू१९ विश्वकप निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा गर्न क्यान सकारात्मक रहेको बताए।
बन्द प्रशिक्षणमा सहभागी १८ जना खेलाडीसहितको टोली पुस २७ गते प्रतियोगितामा भाग लिन मलेसिया प्रस्थान गर्नेछ। नेपाली टोलीले जनवरी १८, २० र २२ मा क्रमशः बांग्लादेश, स्कटल्यान्ड र अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८