सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग आज बयान लिने तयारी गरेको छ ।
पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था ठगीमा नाम जोडिएका लामिछानेलाई समितिले आज बयानका निम्ति बोलाउन लागेको छ ।
“समितिको कार्यविधिअनुसार सहकारीको बचत रकम दुरुपयोगमा संलग्न आरोपितहरूलाई बयान लिने क्रम अन्तिम चरणमा पुगको छ,” समितिका एक सदस्यले बाह्रखरीसित भने, “उहाँ (रवि लामिछाने)लाई शुक्रबार बोलाउने तयारी छ ।”
उक्त सहकारीबाट लामिछानेले पटक–पटक गरी साढे तीन करोड रुपैयाँ लिएर गोरखा मिडिया नेटवर्कमा लगानी गरेको आरोप छ । लामिछानेले आरोप अस्वीकार गर्दै आएका छन् ।
सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलन गरी गोरखा मिडियामा लगानीको आरोप लगाइएका रास्वपाकै सहमहामन्त्री विपीन आचार्यसँग समितिले आइतबार बयान लिएको छ । समितिले सहकारीका सबै आरोपितसँग सोधपुछ गरिरहेको छ ।
सहकारीको रकम ठगीका आरोपितलाई कारबाहीको माग गर्दै संसद्को काम–कारबाही प्रभावित भएपछि गएको जेठ १५ गते संसदीय समिति गठन गरिएको थियो । नेकपा (एमाले)का सांसद सूर्य थापा सभापति रहेको समितिले तीनमहिने कार्यावधि पाएको थियो ।
एमालेकै सरिता भुसाल, नेपाली कांग्रेसबाट ईश्वरी न्यौपाने र बद्री पाण्डे, नेकपा (माओवादी केन्द्र)का लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ध्रुवबहादुर प्रधान सदस्य रहेको समिति गठन गरिएको हो । कांग्रेसका पाण्डे पर्यटमन्त्री बनेपछि उनका ठाउँमा हाल सांसद दिलेन्द्र बडू समिति सदस्य छन् ।
समितिका सदस्य दाहालले समायावधिभित्रै सभामुखसमक्ष प्रतिवेदन बुझाइने बताए । “आरोपितहरूको बयान लगभग अन्तिम चरणमा पुगेको छ । समयभित्रै प्रतिवेदन बुझाउँछौँ,” उनले भने ।
समितिले प्रतिवेदनको ‘ड्राफ्ट’ पनि तयार गर्दै छ । प्राप्त प्रमाणका आधारमा जस्ताको त्यस्तै प्रतिवेदन बुझाउने समितिको तयारी छ ।
“ड्राफ्ट तयार गरिरहेका छौँ । प्राप्त प्रमाणका आधारमा जहाँजहाँ जे समस्या छन्, जस्ताका त्यस्तै प्रतिवेदन पेस गर्ने भन्ने तयारी छ,” समिति स्रोतले भन्यो ।
आरोपमा प्रमाण पुगेका व्यक्तिहरूको नाम प्रतिवेदनमा किटान गर्ने तयारी छ । समितिले मुख्यतः तीन विषयलाई प्राथमिकता दिएको छ । पहिलो, नीतिगत समस्या । दोस्रो, नियतजन्य समस्या के हो, क–कसमा देखियो ? तेस्रो, परिस्थितिजन्य समस्या के रह्यो ?
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८