चितवन- त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस वीरेन्द्र बहुमुखी क्याम्पसमा विद्यार्थीको संख्या दोब्बरले वृद्धि भएको छ । विसं २०७७ मा तीन हजार चार सय विद्यार्थी अध्ययन गरेको यस क्याम्पसमा हाल यो संख्या सात हजारमाथि पुगेको छ ।
क्याम्पस प्रमुख दयाराम पौडेलका अनुसार क्याम्पसमा नयाँ विषयको पठनपाठन थालेपछि विद्यार्थीको आकर्षण निकै बढेको हो । क्याम्पसमा मानविकी, विज्ञान, व्यवस्थापन र शिक्षा संकायको स्नातक र स्नातकोत्तर तहमा पढाइ हुँदै आएको छ ।
स्नातकमा व्यवस्थापनतर्फ बीबीए र बीबीएसको पढाइ हुने गर्दछ । विज्ञानतर्फ बीएस्सी, बीएस्सी सीएसआईटी, बीआइटी, बीएस्सी जुओलजी र माइक्रोबायोलोजीको पढाइ हुने गरेको छ । शिक्षातर्फ बीएस र बीआईसीटीई विषयको पढाइ हुने गर्छ ।
स्नातकोत्तरमा विज्ञानतर्फ फिजिक्स र क्यामेस्ट्री, व्यवस्थापनतर्फ एमबीएस, मानविकीतर्फ नेपाली, अंग्रेजी, अर्थशास्त्र, समाजशास्त्र र जनसंख्या शिक्षाको पढाइ हुँदै आएको छ ।
यसै वर्षदेखि एमसीए र एमएडको पढाइ सञ्चालन गर्ने तयारी क्याम्पसले गरेको छ । क्याम्पसमा नयाँ विषयको पढाइ थालेपछि पहिलो रोजाइ बन्न सकेको हो । क्याम्पस प्रमुख पौडेलले भने, ‘शुल्क कम र गुणस्तरीय पढाइ हुने भएकाले यहाँ कोटा पाएसम्म विद्यार्थी अन्यत्र पढ्न जाँदैनन् ।’रासस
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८