• असोज २, २०८१, बुधवार Wednesday, 18 September, 2024

प्राधिकरणले कमाएको नाफा कागजी होइन : कुलमान

  • खबरदाता

प्राधिकरणले कमाएको नाफा कागजी होइन : कुलमान

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणले कमाएको नाफाको ग्राफमा शंका नगर्न आग्रह गरेका छन् ।

आफ्नो दोस्रो कार्यकालको तीन वर्ष पूरा भएको अवसरमा शुक्रबार विद्युत् प्राधिकरणमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले प्राधिकरण विद्युत् विकासका पूर्वाधार निर्माण र सेवा विस्तारमा लगानी हुने भरपर्दो स्रोत पनि बनेको बताए ।

“प्राधिकरणले कमाएको नाफा ग्राफमा देखिने कोरा अंकमात्र होइन, यो त विद्युत् विकासका पूर्वाधार निर्माण र सेवा विस्तारमा लगानी हुने भरपर्दो स्रोत पनि बनेको छ । जसले भविष्यको थप नाफालाई पनि सुनिश्चित गर्नेछ,” कार्यकारी निर्देशक घिसिङले भने ।

आफ्नो पुँजीको तत्कालका लागि १० प्रतिशत सेयर आमसर्वसाधारणलाई निष्कासन गरी संकलन गरिएको रकम ठूला जलविद्युत् आयोजनाहरूमा लगानी गर्ने दिशामा प्राधिकरण अघि बढिसकेको उनले बताए ।

विद्युत् प्रसारण तथा वितरणतर्फका पूर्वाधार संरचना विस्तार तथा सुदृढीकरणमा ठूलो लगानी परिचालन गरिएको पनि उनले जनाए ।

“विगत आठ वर्षमा मात्र प्राधिकरण करिब एक खर्ब रुपैयाँ पुँजीगत लगानी गर्न सक्षम भएको छ । साथै विगत आठ वर्षमा प्राधिकरणले आफ्ना सहायक र सम्बद्ध कम्पनीहरूमा ५६ अर्ब ६८ करोड रुपैयाँभन्दा बढी लगानी गरेको छ,” घिसिङले बताए ।

धेरैले प्राधिकरणले कागजीरूपमा मात्र नाफा देखाएको आरोप लगाउने गरेको सुनाउँदै उनले भने, “यसबाट प्रस्ट छ, संवैधानिक निकाय महालेखा परीक्षकको कार्यालयको अन्तिम लेखापरीक्षणबाट देखिएको प्राधिकरणको नाफा कुनै कागजी हैन, यो त आन्तरिकरूपमा लगानीका लागि एउटा दह्रो स्रोत हो ।”

  • प्रकाशित मिति : साउन २५, २०८१, शुक्रवार १६:२५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८