• वैशाख १७, २०८२, बुधवार Wednesday, 30 April, 2025

हच्किए ओली,तीन महिनाभित्र महसुल नतिरे जोडिएको लाइन काटिने

  • खबरदाता

हच्किए ओली,तीन महिनाभित्र महसुल नतिरे जोडिएको लाइन काटिने

तीन महिनाभित्र महसुल नतिरे नेपाल विद्युत प्राधिकरणले बक्यौता रहेका सबै उद्योगको लाइन काटिदिने भएको छ । यता, संसद्‌देखि मन्त्रिपरिषद् कार्यालयसम्म बक्यौता नतिरेका व्यापारीको पक्षमा रुझान राखेका प्रधानमन्त्री केपी शर्मा ओलीले महसुल प्रकरणमा पूर्ववत्‌ अडान छाडेका छन्‌ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो निर्देशनपछि सञ्‍चालक समितिको लिखित निर्णयका आधारमा प्राधिकरणले बिजुली काटिएका आधादर्जन उद्योगको लाइन मंगलबार बेलुकी ८ बजेदेखि जोडिदिएको हो ।

विद्युत महसुल नतिरेपछि प्राधिकरणले जगदम्बा स्टील, रिलायन्स स्पिनिङ मिल्स, अर्घाखाँची सिमेन्ट, हुलास स्टील, घोराही सिमेन्ट र जगदम्बा सिन्थेटिकको लाइन असार २५ देखि काट्न थालेको थियो । २७ गतेसम्म यी ६ उद्योगको लाइन काटेपछि उद्योगीहरू नवगठित सरकारका प्रधानमन्त्री ओली र विभागीय मन्त्रीहरूकहाँ गुहार्न पुगेका थिए ।

प्राधिकरणले लाइन काटिएका ६ वटा उद्योगहरूमा मंगलबार साँझबाट क्रमिक रूपमा विद्युत जडान गर्ने जनाए पनि महसुल नतिरे पुनः लाइन काटिदिने अडान राखेको हो ।

प्राधिकरण स्रोतका अनुसार तीन महिनाभित्र उद्योगीहरूले वक्यौता विद्युत महसुल भुक्तानी नगरेमा पुनः बक्यौता असुलउपर गर्न कारबाही अघि बढाउनेगरी विद्युत नियमन आयोगको निर्देशन अनुसार उद्योगहरूको विद्युत लाइन जोड्ने निर्णय गरिएको छ । ‘पुनः बक्यौता असुलउपर गर्न कारबाही’को अर्थ बक्यौता नतिर्ने सबै उद्योगको लाइन धमाधम काट्ने नै भएको स्रोतले बतायो ।

उद्योगमा लाइन जोड्न प्रधानमन्त्री ओलीले यसपटक सार्वजनिक हित संरक्षण निर्देशिका, २०८० लाई अघि सार्न लगाएका थिए । सोही निर्देशअनुसार आयोगले प्राधिकरणलाई उपभोक्ता हित संरक्षण उल्लङ्घन भएको जनाउँदै लाइन जोड्न निर्देशन दिएको थियो । यस्तो निर्देशन दिएको आयोगका पदाधिकारीहरू यतिखेर चर्को आलोचना खेप्दैछन्‌ ।

 

  • प्रकाशित मिति : साउन ९, २०८१, बुधवार ०५:५६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८