• असोज २, २०८१, बुधवार Wednesday, 18 September, 2024

सम्झनाको उत्कृष्ट ब्याटिङमा यूएईमाथि नेपालको सहज जित

  • खबरदाता

सम्झनाको उत्कृष्ट ब्याटिङमा यूएईमाथि नेपालको सहज जित

ओपनर सम्झना खड्काको उत्कृष्ट ब्याटिङप्रेरित नेपालले एसीसी महिला एसिया कपमा युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध ६ विकेटको जित निकालेको छ ।

श्रीलंकाको धमुल्ला अन्तर्राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा सम्झनाले करियरकै पहिलो अन्तर्राष्ट्रिय अर्धशतक बनाएपछि यूएईले दिएको ११६ रनको लक्ष्य नेपालले १६।१ ओभरमा चार विकेट गुमाएर भेटायो ।

नेपालको जितमा ओपनर सम्झनाले अविजित ७२ रन बनाइन् । १६० को स्ट्राइक रेटमा ब्याटिङ गरेकी सम्झनाले ४५ बलमा ११ चौका प्रहार गरिन् । जुन नेपालबाट सम्झनाले बनाएको पहिलो अर्धशतक हो ।

यसबाहेक, रुविना क्षेत्रीले १० रन थपिन् । सीता रानामगर र पूजा महतोले समान सात रन बनाउँदा कप्तान इन्दु बर्माले ६ र कविता कुवँरले दुई रन जोडिन् ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको यूएईले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर ११५ रनको योगफल खडा गरेको थियो ।

यूएईकी खुसी शर्माले सर्वाधिक ३६ रन बनाइन् । उनले ३९ बलमा दुई चौका प्रहार गरिन् । काविशा इगोडेजले २२ रन थपिन् । समाइरा धर्निधर्काले १३ र कप्तान इशा ओजाले १० रन थपे ।

नेपालकी कप्तान इन्दु बर्माले तीन विकेट लिइन् । चार ओभर बलिङ गरेकी इन्दुले १९ रनमात्र खर्चिइन् । सबनम राई, कविता जोशी र कृतिका मरासिनीले समान एक विकेट हात पारे ।

प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ । यस समूहमा नेपालसँगै युएई, भारत र पाकिस्तान छन् ।

  • प्रकाशित मिति : साउन ४, २०८१, शुक्रवार १७:४५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८