• चैत १०, २०८१, आइतवार Sunday, 23 March, 2025

सुनसरीमा आँप उत्पादन घट्यो

  • रासस

सुनसरीमा आँप उत्पादन घट्यो

धरान । जिल्लामा यस वर्ष आँपको उत्पादनमा कमी आउँदा मूल्य बढेको छ । हुरीबतास र कीराले क्षति पुर्याएको कारण गत वर्षका तुलनामा यस वर्ष आँपको उत्पादनमा कमी आएको जिल्ला कृषि ज्ञान केन्द्रका सूचना अधिकृत प्रविनलाल श्रेष्ठले जानकारी दिए ।

उनले भने, “कीराको जोखिम र हुरीबतासका कारण गत वर्षभन्दा यस वर्ष उत्पादन कम भएको हो । उत्पादन कम भएसँगै मूल्यवृद्धि भएको छ । खुद्रा प्रतिकेजी रु ५५ सम्ममा बिक्री हुने आँप अहिले प्रतिकेजी रु ८० देखि १०० सम्ममा बिक्री हुने गरेको छ ।” गत वर्ष प्रतिकिलो रु ५० भन्दा कममै आँप बिक्री भएको उनले बताए ।

केन्द्रका अनुसार जिल्लामा यस वर्ष एक हजार एक सय २४ हेक्टर क्षेत्रफलमा सात हजार एक सय ८६ मेट्रिक टन आँप उत्पादन भएको छ । गत वर्ष एक हजार एक सय २४ हेक्टरमा सात हजार पाँच सय ६५ मेट्रिक टन उत्पादन भएको थियो ।

जिल्लाको इनरुवा, नसिङ, हरिनगरा, बक्लौरी, गौतमपुर, प्रकाशपुर, भोक्राहालगायत ठाउँ आँप ‘पकेट’ क्षेत्र हुन् । अहिले बजारमा माल्दा, आम्रपाली, कलकत्तिया, बम्बई, कृष्णभोगलगायत आँप बिक्री हुने गरेको छ । जिल्लामा व्यावसायिक रूपमा किसानले आँपखेती नगरे पनि पछिल्लो समय आँप उत्पादन घट्दै गएको सूचना अधिकृत श्रेष्ठले बताए ।

आँपको एक वर्ष राम्रो फल लाग्ने र अर्को वर्ष फल कम लाग्ने भएकाले पनि उत्पादनमा कमी आएको जनाइएको छ ।

  • प्रकाशित मिति : असार २१, २०८१, शुक्रवार ११:०२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८