• जेठ १०, २०८२, शनिवार Saturday, 24 May, 2025

विश्वकपमा अपराजित भारत : बंगलादेशमाथि ५० रनको शानदार जित

  • खबरदाता

विश्वकपमा अपराजित भारत : बंगलादेशमाथि ५० रनको शानदार जित

काठमाडौं – आईसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत शनिबार राति भएको ‘सुपर(८’को खेलमा भारतले बंगलादेशमाथि ५० रनको जित निकालेको छ ।

जारी विश्वकपमा अपराजित भारत सेमिफाइनल नजिक पुगेको छ । ‘सुपर- ८’ मा लगातार दोस्रो हारसँगै बंगलादेशको सेमिफाइनल सम्भावना कठिन बनेको छ ।

टस हारेर सुरुमा ब्याटिङ गरेको भारतले २० ओभरमा पाँच विकेट गुमाएर १९६ रन बनाएको थियो । १९७ रनको लक्ष्य पछ्याएको बंगलादेश आठ विकेट गुमाएर पुरै २० ओभर खेल्दै १४६ रनमा समेटिएको हो ।

भारतको जितमा हार्दिक पाण्ड्याले अर्धशतक बनाए। २७ बलमा तीन छक्का र चार चौकाको मद्दतमा उनले नटआउट ५० रन बनाएका हुन् ।

भारतका लागि ओपनर विराट कोहलीले ३७, कप्तान रोहित शर्माले २३ रन बनाउँदा ऋषभ पन्तले ३६ जोडे । शिवम् दुबेले ३४ रन बनाउँदा सूर्यकुमार यादव भने ६ रनमा समेटिएका थिए।

बंगलादेशका लागि तान्जिम हसन सकिब र रिसाद होसैनले समान दुईदुई विकेट हात पारे भने सकिब अह हसनले एक विकेट लिए ।

१९७ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको बंगलादेशका लागि कप्तान नजमुल होसैन सान्तोले सर्वाधिक ४० रन बनाए ।

 

तानजिद हसन २९, रिसाद होसैन २४, महमुदुल्लाह १३, लिटन दास १३ रनमा आउट हुँदा सकिब अल हसनले ११ रन जोडे ।

भारतका लागि कुलदीप यादवले तीन विकेट लिए । जसप्रित बुमराह र अर्शदीप सिंहले दुई–दुई विकेट लिए भने हार्दिक पाण्ड्याले एक विकेट हात पारे ।

भारत र बंगलादेश ‘सुपर–८’ चरणको ‘समूह–१’ मा छन् । दुई खेलमा विजयी भएको भारत चार अंकसहित तालिकाको शीर्ष स्थानमा छ ।

अस्ट्रेलिया तालिकाको दोस्रो स्थानमा छ । यो समूहका अफगानिस्तान र बंगलादेशले भने खाता खोल्न सकेका छैनन् ।

  • प्रकाशित मिति : असार ९, २०८१, आइतवार ०५:४३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८