काठमाडौं । केही दिनयता देशका धेरै स्थानमा तापक्रम बढेको छ । काठमाडौंसहित विशेष गरी तराई क्षेत्रमा गर्मी बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सोमबार (जुन १०) ‘सबैभन्दा बढी’ तापक्रम धनगढीमा ४४ डिग्री सेल्सियस मापन गरिएको छ । आइतबार धनगढीको अधिकतम तापक्रम ४२.९ डिग्री सेल्सियस थियो । गएको शनिबार धनगढीको अधिकतम तापक्रम ४१.९ डिग्री सेल्सियस मापन गरिएको थियो । धनगढीमा यो वर्षकै बढी तापक्रम ४४.१ डिग्री सेल्सियस यसअघि मापन गरिएको थियो ।
महाशाखाले सोमबार सार्वजनिक गरेको २० स्थानको विवरणमध्ये नेपालगन्जको अधिकतम तापक्रम ४३.६ डिग्री सेल्सियस मापन गरिएको छ । आइतबार नेपालगन्जको अधिकतम तापक्रम ४२.६ डिग्री सेल्सियस थियो । शनिबार नेपालगन्जको अधिकतम तापक्रम ४१.८ डिग्री सेल्सियस मापन गरिएको थियो । गएको मे ३० मा नेपालगन्जको अधिकतम तापक्रम ४४.२ डिग्री सेल्सियस मापन गरिएको थियो । यो वर्ष नेपालगन्जको उक्त तापक्रम नै अहिलेसम्म बढी भएको महाशाखाका मौसमविद् गोविन्द झाले जानकारी दिए ।
सोमबार वीरेन्द्रनगरको अधिकतम तापक्रम ४०.९, दिपायलको ४०.७, भैरहवाको ३९.८, घोराहीको ३९.६, सिमराको ३७.५, जनकपुरको अधिकतम तापक्रम ३७ डिग्री सेल्सियस मापन गरिएको छ ।
आइतबार वीरेन्द्रनगरको अधिकतम तापक्रम ४०.४, दिपायलको ४०.२, भैरहवाको ३८.२, घोराहीको ३९.३, सिमराको ३७.७, जनकपुरको अधिकतम तापक्रम ३८.० डिग्री सेल्सियस थियो । शनिबार वीरेन्द्रनगर र दिपायलको अधिकतम तापक्रम समान ३९.५, भैरहवाको ३८.२, घोराहीको ३७.७, सिमराको ३७.३, जनकपुरको अधिकतम तापक्रम ३७.८ डिग्री सेल्सियस मापन गरिएको थियो ।
सोमबार काठमाडौंको अधिकतम तापक्रम ३४.४ डिग्री सेल्सियस मापन गरिएको छ । यो तापक्रम यस वर्षका निम्ति अहिलेसम्म उच्चबराबर भएको मौसमविद् झाले बताए । महाशाखाका अनुसार, यो वर्ष काठमाडौंको सबैभन्दा बढी तापक्रम जेठ १७ र जेठ ११ मा पनि समान ३४.४ डिग्री सेल्सियस नै मापन गरिएको थियो ।
आइतबार (हिजो) काठमाडौंको अधिकतम तापक्रम ३३.८ डिग्री सेल्सियस थियो । शनिबार काठमाडौंको अधिकतम तापक्रम ३१.९ डिग्री सेल्सियस मापन गरिएको थियो ।
महाशाखाका अनुसार, काठमाडौंको हालसम्मकै उच्च तापक्रम भने ३६.६ डिग्री सेल्सियस हो । सन् १९८९ मे ७ मा काठमाडौंको अधिकतम तापक्रम ३६.६ डिग्री सेल्सियस मापन गरिएको थियो । त्यसयता उक्त ‘रेकर्ड ब्रेक’ नभएको महाशाखाले जनाएको छ ।
यही जेठ १७ गते कैलालीको टीकापुरमा ४५.२ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो । त्यो नै यो वर्ष नेपालभित्र मापन गरिएको अहिलेसम्म उच्च तापक्रम भएको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार, नेपालमा हालसम्मकै उच्च तापक्रम सन् १९९५ मा मापन गरिएको थियो । १९९५ जुन ५ मा धनगढीको अधिकतम तापक्रम ४६.४ डिग्री सेल्सियस मापन गरिएको थियो । सन् १९९५ मा नेपालगन्ज र भैरहवामा ४५ डिग्री सेल्सियस तापक्रम पुगेको थियो ।
महाशाखाले हरेक दिन बिहान न्यूनतम र बेलुका अधिकतम तापक्रम मापन गरी वेबसाइटमार्फत विवरण सार्वजनिक गर्ने गर्छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८