• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

वाग्मतीसहित यी प्रदेशमा हुनेछ वर्षा,हावाहुरीको पनि सम्भावना

  • खबरदाता

वाग्मतीसहित यी प्रदेशमा हुनेछ वर्षा,हावाहुरीको पनि सम्भावना

चितवन । देशका केही भू–भागमा आज वर्षाको सम्भावना छ । कोसी, वाग्मती र गण्डकीमा वर्षाको सम्भावना रहेको हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कोसी प्रदेशलगायत पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ ।

विभागले दिउँसो कोसी प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

कोसी, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा बाँकी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

लुम्विनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना छ ।

काठमाडौं उपत्यकामा आज वर्षाको सम्भावना रहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिए । उनका अनुसार अपराह्नतिर छिटपुटदेखि हल्का वर्षा हुने सम्भावना छ ।

विभागले राति कोसी प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

कोसी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका केही भू–भागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा हल्कादेखि मध्यमसम्म वर्षा भएको छ । विभागका अनुसार ललितपुरको खुमलटारमा सबैभन्दा धेरै वर्षा भएको छ । मौसमविद् लामिछानेका अनुसार खुमलटारमा ३०।७ मिलिमिटर वर्षा भएको छ । कीर्तिपुरमा १२।२, बबरमहलमा ७।६, बूढानीलकण्ठमा २।४ मिलिमिटर वर्षा भएको छ ।

हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहेको विभागले जनाएको छ ।

  • प्रकाशित मिति : जेठ २६, २०८१, शनिवार ०६:२१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८