• वैशाख १७, २०८१, सोमवार Monday, 29 April, 2024

रुसी सेनाबाट भागेर स्वदेश आइपुगे कञ्चनपुरका सिंह

  • खबरदाता

रुसी सेनाबाट भागेर स्वदेश आइपुगे कञ्चनपुरका सिंह

चैत ५, २०८०, सोमवार

 

रुसी सेनामा भर्ना भएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-६ का २४ वर्षीय सिजनबहादुर सिंह घर फर्किएका छन् । रुसी सेनाबाट भागेर उनी गत शुक्रबार भारतको दिल्ली हुँदै स्वदेश फर्किएका हुन् ।

‘पछिल्लो तीन महिनादेखि तलब पाइएन । खाना नपाएर साह्रै गाह्रो भयो । रुसी सेनाले नेपालीसँग भएको पैसा, खाना लुट्ने र अग्रमोर्चामा युद्धका लागि खटाउँथे, त्यसपछि भागेर हिँडे’, उनले भनेका छन् ।

रुस(युक्रेन युद्धमा सिंह अग्रमोर्चामा खटिएका थिए । उहाँ अन्य १० जना साथीसँगै गत भदौ १ ‘भिजिट भिसा’मा रुस गएर सेनामा भर्ती हुनुभएको थियो । परिवारका जेठा छोरा उनी ऋण तिर्न पैसा कमाउन अर्को ऋण काढेर रुसी सेनामा पुगेका थिए । घर फर्किंदा रित्तो हात हुनुपरेको छ । ‘घरमा रु ३० लाख ऋण थियो । बुबाले कमाएर तिर्न सक्ने अवस्था थिएन । स्वदेशमा पाइने रु २०-३० हजारको जागिरले ब्याज तिर्न पनि सकिँदैनथ्यो, परिवारको बाध्यताले युद्धको र्भुवरीमा हामफालेँ तर सोचेकोजस्तो भएन’, उनले भनेका छन् ।

सुरुआतमा रुसी सरकारले तलब दिए पनि पछिल्लो तीन महिनामा तलब पनि नदिएको र भोकभोकै काम गर्न नसकिने अवस्था आएपछि भागेर स्वदेश फिर्ता भएको उनले सुनाए । सिंहका अनुसार घर धितो राखेर रु सात लाख ५० हजार ऋण निकालेर रुस हानिएका हुन् । सँगै रुस गएका अन्य १० साथी युद्धभूमिमै ढलेको उनी सम्झना गर्छन् ।

“त्यहाँको अवस्था देख्दा बाँचिएला सोचेकै थिएन । सँगैका सबै साथी मरे । डराएर म पछि पछि लागेर युद्धमा जाने हुनाले बचेँ, दैनिक ५०-६० जना नेपाली सैनिकमा भर्ती हुन पुग्थे”, उनले भनेका छन् । मासिक रु अढाई लाखदेखि पाँच लाखसम्म आम्दानीलगायत प्रलोभनमा परेर रुसी सेनामा भर्ना भइरहेको सिंहको भनाइ छ । केही महिनाको सैन्य तालिमपछि युद्धका लागि परिचालन गरिएको उनले बताए ।

युद्ध लडिरहेको रुसी सेनाको फौजबाट भागेर राजधानी मस्को पुगेका सिंह घरबाट पैसा मगाएर दिल्ली हुँदै स्वदेश आइपुगेका हुन् । मस्कोमा एक दलाललाई रु दुई लाख ५० हजार बुझाएर घर पुग्न सफल भएको उनी बताउँछन् । ‘तीनजना भागेर मस्को पुगेका थियौँ । सँगै दिल्लीको टिकट काटिएको थियो, तर विमानमा दिल्ली आउँदा एक्लै थिएँ । पछि बुझ्दा एकजनालाई अध्यागमले समातेको रहेछ’, सिंहको भनाइ छ । रुसी सेनामा भर्ना भएका नेपालीको अवस्था दयनीय रहेको उनले जनाएका छन् ।

  • प्रकाशित मिति : चैत ५, २०८०, सोमवार ०६:५८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८