• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

आजदेखि देशभर मौसम बदली र वर्षा सुरु हुने

  • खबरदाता

आजदेखि देशभर मौसम बदली र वर्षा सुरु हुने

फागुन ७, २०८०

 

चितवन । पश्चिमी न्यूनचापीय प्रणाली थप सक्रिय हुँदा आजदेखि देशका धेरै स्थानमा बदली र वर्षा सुरु हुने भएको छ । शुक्रबारसम्म नेपालको धेरै स्थानमा आंशिकदेखि साधारणतया बदलीको सम्भावना रहेको छ ।

पश्चिमी न्यूनचापीय प्रणाली पश्चिमबाट पूर्वतर्फ सर्दै जाने क्रममा आजदेखि बुधबारसम्म सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना छ ।

वाग्मती र कोसी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

बिहीबारदेखि शुक्रबार सम्म वाग्मती र कोसी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा तथा सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आजदेखि सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानका साथै लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा तथा बाँकी पहाडी भू–भागका एकदुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

मंगलबार देखि बुधबारसम्म सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा तथा वाग्मती र कोसी प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

बिहीबार वाग्मती, मधेस र कोसी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

शुक्रबार गण्डकी, वाग्मती र कोसी प्रदेशका थोरै स्थानमा तथा बाँकी पहाडी भू–भागका एकदुई स्थानमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । शनिबारदेखि क्रमशः मौसममा सुधार हुँदै जाने विभागले स्पष्ट पारेको छ ।

उक्त मौसम प्रणालीको असरले तापक्रममा केही गिरावट आउँदा चिसो बढ्नसक्ने सम्भावना रहेको विभागले जनाएको छ । त्यसैले वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, हवाई तथा सडक यातायात प्रभावित हुनसक्ने विभागले बताएको छ ।

  • प्रकाशित मिति : फागुन ७, २०८०, सोमवार ०६:४२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८