• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

मौसमविद् भन्छन्– अब धेरै चिसो हुँदैन, गर्मी सुरु हुन्छ

  • खबरदाता

मौसमविद् भन्छन्– अब धेरै चिसो हुँदैन, गर्मी सुरु हुन्छ

माघ २४, २०८०

काठमाडौं । सोमबार काठमाडौंको न्यूनतम तापक्रम ६.७ डिग्री सेल्सियस थियो । जल तथा मौसम विज्ञान विभागको तथ्यांकअनुसार मंगलबार न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस मापन गरिएको थियो । बुधबार (आज) बिहान ५ः४५ बजे काठमाडौंको तापक्रम ३.३ डिग्री सेल्सियस मापन गरिएको छ ।

तीन दिनयता काठमाडौंको तापक्रम लगातार घटे पनि यस वर्ष अब यो भन्दा धेरै तल जाने सम्भावना नरहेको मौसमविद् मीनकुमार अर्याल बताउँछन् ।

“बादल नलागेर मौसम क्लियर भएकाले तीन दिनदेखि तापक्रम घटेको हो तर अब यो वर्षकै सबैभन्दा कम चिसो हुने अवस्था छैन,” अर्यालले बाह्रखरीसँग भने ।

यो वर्ष न्यूनतम तापक्रम २.१ सम्म झरेको थियो । माघ १४ गते काठमाडौंको न्यूनतम तापक्रम २.१ डिग्री सेल्सियस मापन गरिएको थियो ।

“अब न्यूनतम तापक्रम धेरै घट्दैन । यो वर्षको हालसम्मको न्यूनतम तापक्रम २.१ भन्दा तल झर्ने सम्भावना कम छ,” मौसमविद् गोविन्द झा भन्छन्, “२.१ डिग्री नै पुग्ने सम्भावना कम हुन्छ ।”

तीनरचार दिन लगातार झरी परेर चिसो हुँदा तापक्रम केही घट्ने सम्भावना हुने तर रेकर्ड नै ब्रेक हुनेगरी चिसो नहुने मौसमविद् अर्याल बताउँछन् । काठमाडौं र पहाडी भू–भागमा अब विस्तारै तापक्रम बढ्दै जाने उनको भनाइ छ ।

“उच्च पहाडी र हिमाली क्षेत्र जहाँ लगातार हिमपात भएर माइनसमा तापक्रम जान्छ, त्यहाँ भने भन्न सकिन्न,” उनी भन्छन्, “पश्चिमी वायु स्ट्रङ भएर पानी वा हिमपात भए हिमाली र उच्च पहाडी भू–भागमा थप चिसो पनि हुनसक्छ ।”

अब विस्तारै तापक्रम बढ्दै जाने उनी बताउँछन् । जाडो सिजनको अन्मितिर आइपुगेकाले अब नयाँ प्रणाली विकास भएर बदली र वर्षा नै भए पनि न्यूनतम तापक्रम धेरै नघट्ने उनी स्पष्ट पार्छन् । “अब जाडो कम हुँदै गएर गर्मी हुँदै जान्छ भन्न सकिन्छ,” मौसमविद् अर्याल भन्छन् ।

  • प्रकाशित मिति : माघ २४, २०८०, बुधवार ०७:३४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८