• वैशाख १७, २०८१, सोमवार Monday, 29 April, 2024

भारतलाई पराजित गर्दै अस्ट्रेलिया बन्यो छैटौं पटक विश्वविजेता

  • एजेन्सि

भारतलाई पराजित गर्दै अस्ट्रेलिया बन्यो छैटौं पटक विश्वविजेता

मंसिर ४, २०८०

 

चितवन । १३ औँ आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधि अस्ट्रेलियाको पोल्टामा पारेको छ । अस्ट्रेलियाले आइतबार खेलिएको फाइनलमा आयोजक राष्ट्र भारतलाई ६ विकेटले हराउँदै उपाधिमाथि कब्जा जमाएको हो ।

अस्ट्रेलियाको जितसँगै अहमादाबादस्थित नरेन्द्र मोदी स्टेडियममा खचाखच भरिएका एक लाख ३० हजारभन्दा बढी समर्थक निराश बने । तेस्रोपटक एकदिवसीय विश्वकपको उपाधि जित्ने आशामा रहेका करोडौँ भारतीय समर्थकको विश्वासमा तुषारापात गर्दै अस्ट्रेलियाले कीर्तिमान रुपमा छैटौँ पटक उपाधि चुमेको हो ।

टस हारी पहिलो ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ओभरमा सबै विकेट गुमाएर दुई सय ४० रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको अस्ट्रेलियाले ४३ ओभरमा केवल चार विकेट गुमाउँदै विजयलक्ष्य पुरा गरेको हो ।

अस्ट्रेलियाको जितमा ट्राभिस हेडले सतकीय पाली खेले । उनले टोलीको जितमा अविजित एक सय ३७ रनको योगदान गरे । ओपनर ब्याट्सम्यान हेडले एक सय २० बलको सामना गरी चार छक्का र १५ चौका प्रहार गरे ।

त्यसअघि ओपनर ब्याट्सम्यान डेभिड वार्नर सात रनमै पेभेलियन फर्किएका थिए । तेस्रो नम्बरका ब्याट्सम्यान मिचेल मार्स पनि १५ रन बनाउँदै आउट भएका थिए ।

चौथो नम्बरमा क्रिज समाल्न आएका अनुभवी ब्याट्सम्यान स्टिभन स्मिथ पनि चार रनको ब्यक्तिगत स्कोरमै आउट भए । तर, पाँचौँ नम्बरका ब्याट्सम्यान मार्नस लाम्बुसेनले टोलीका लागि अविजित ५८ रनको योगदान गरे । टोलीको जितमा महत्वपूर्ण योगदान गरेका उनले एक सय १० बलको सामना गरी चार चौका हिर्काएका थिए ।

ब्याट्सम्यानजस्तै भारतीय टोलीका बलरहरु पनि निरिह सावित भए । जसिप्रित बुमहारले दुई विकेट लिए । मोहम्मद सामी र मोहम्मद सिराजले एक—एक विकेट लिए । अस्ट्रेलियाले अतिरिक्त रुपमा १८ रन पायो ।

त्यसअघि अहमादाबादस्थित नरेन्द्र मोदी स्टेडियममा भारतले निराशाजनक सुरुआत गरेको थियो । भारतले टोलीको कुल स्कोर एक सय रन पुग्नुअगावै तीन प्रभावशाली विकेट गुमाएको थियो । त्यसपछि भारतीय टोली दबाबमा परेको थियो ।

भारतले पहिलो विकेटका रुपमा ओपनर शुभमन गिललाई केवल चार रनको व्यक्तिगत स्कोरमा गुमाएको थियो । गिललाई ग्लेन म्याक्सवेलले ट्राभिस हेडद्वारा क्याच गराएका थिए । गिल आउट हुँदा भारतले ४.२ ओभरमा ३० रन बनाएको थियो ।

त्यसपछि भारतीय टोलीका कप्तान रोहित शर्मा ४७ रन बनाउँदै आउट भएका थिए । उनले ३१ बलमा तीन छक्का र चार चौका हिर्काएका थिए । रोहितलाई मिचेल स्टार्कले एडम जाम्पाद्वारा क्याच गराएका थिए । ९.४ ओभरमा रोहित आउट हुँदा भारतले ७६ रन बनाएको थियो ।

त्यसलगत्तै भारतका अर्का ब्याट्सम्यान श्रेयस ऐयर पनि पेभेलियन फर्किएका थिए । चौथो नम्बरका क्रिज समाल्न आएका ऐयरलाई प्याट कुमिन्सले चार रनको व्यक्तिगत स्कोरमा जोस इङ्लिसद्वारा क्याच गराएका थिए । १०.२ ओभरमा ऐयर आउट हुँदा भारतले ८१ रन बनाएको थियो ।

त्यसपछि अनुभवी ब्याट्सम्यान विराट कोहली र केएल राहुलले भारतको पालीलाई सम्हालेका थिए । कोहलीले चौथो विकेटका रुपमा पेभेलियन फर्किनुअघि अर्धसतक बनाएका थिए । उनले टोलीको खातामा ५४ रन थपेका थिए । उनले ६३ बलमा चार चौका प्रहार गरे ।

कोहलीलाई अस्ट्रेलियन बलर प्याट कुमिन्सले बोल्ड गरेका थिए । कुमिन्सले फालेको बल कोहलीको ब्याटमा ठोक्किएर विकेटमा लागेको थियो । २८.३ ओभरमा कोहली आउट हुँदा भारतले एक सय ४८ रन बनाएको थियो ।

त्यसलगत्तै रविन्द्र जडेजा पनि भेलियन फर्किएका थिए । छैठौँ नम्बरमा क्रिज समाल्न आएका जडेजा नौ रनको व्यक्तिगत स्कोरमा आउट भएका थिए । केवल २२ बलको सामना गरेका जडेजालाई जोस हेजलउडले विकेटकिपर इङ्लिसद्वारा क्याच गराएका थिए । उनी आउट हुँदा भारतले ३५.५ ओभरमा एक सय ७८ रन बनाएको थियो ।

त्यसपछि छैटौँ विकेटका रुपमा केएल राहुल अर्धसतक बनाउँदै पेभेलियन फर्किएका थिए । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका विकेटकिपर ब्याट्सम्यान राहुलले टोलीको खातामा ६६ रनको योगदान गरेका थिए । लामो समय क्रिजमा सँघर्ष गरेका उनले एक सय सात बलको सामना गरी केवल एक चौका हिर्काएका थिए ।

राहुललाई अस्ट्रेलियन बलर मिचेल स्टार्कले विकेटकिपर इङ्लिसद्वारा क्याच गराएका थिए । फाइनल खेलमा विकेटकिपर इङ्लिसले लिएको यो तेस्रो क्याच थियो । राहुल आउट हुँदा भारतीय टोलीले ४१।३ ओभरमा दुई सय तीन रन बनाएको थियो ।

भारतले सातौँ विकेटका रुपमा मोहम्मद सामीलाई गुमाएको थियो । उनी ६ रनको व्यक्तिगत स्कोरमा पेभेलियन फर्किएका हुन् । उनले १० बलको सामना गरी एक चौका पनि हिर्काएका थिए ।

उनलाई पनि अस्ट्रेलियन बलर मिचेल स्टार्कले विकेटकिपर इङ्लिसद्वारा क्याच गराएका थिए । विकेटकिपर इङ्लिसले लिएको यो चौथो क्याच थियो ।

स्टार्कले लिएको भने यो तेस्रो विकेट थियो । सामी आउट हुँदा भारतले ४३.४ ओभरमा दुई सय ११ रन बनाएको थियो ।

यसैगरी आठौँ विकेटका रुपमा जसप्रित बुमराहलाई गुमाएको थियो । उनले केवल एक रन बनाउँदै पेभेलियन फर्किएका थिए । एडम जाम्पाले उनलाई एलबीडब्लूको धरापमा पारेका थिए ।

४४.५ ओभरमा उनी आउट हुँदा भारतले दुई सय १४ रन बनाएको थियो । फाइनमा जाम्पाले लिएको यो पहिलो विकेट थियो ।

भारतले नवौँ विकेटका रुपमा सूर्यकुमार यादवलाई गुमाएको थियो । उनी २८ बलमा एक चौकाको मद्दतले १८ रन बनाउँदै आउट भएका हुन् ।

उनलाई अस्ट्रेलियन बलर हेजलउडले इङ्लिसद्वारा क्याच गराएका थिए । विकेटकिपर इङ्लिसले लिएको यो पाँचौँ क्याच थियो ।

हेजलउडले लिएको भने यो दोस्रो विकेट थियो । उनी आउट हुँदा भारतले ४७.३ ओभरमा दुई सय २६ रन बनाएको थियो ।

भारतका कुलदिप यादबले १० रन र मोहम्मद सिराजले अविजित नौ रन बनाए । कुलदिप यादव अन्तिम ओभरको अन्तिम बलमा रन आउट भएका थिए ।

तीन विकेट लिने क्रममा अस्ट्रेलियन बलर स्टार्कले १० ओभर बलिङ गर्दै ५५ रन खर्चिएका थिए । दुई विकेट लिने क्रममा कुमिन्सले १० ओभरमा केवल ३४ रन खर्चिएका थिए ।

दुई विकेट लिएका हेजलउडले १० ओभरमा ६० रन दिएका थिए । यसैगरी एक विकेट लिएका ग्लेन म्याक्सवेलले ६ ओभरमा ३५ रन दिएका थिए ।

एक विकेट लिएका एडम जाम्पाले १० ओभरमा ४४ रन खर्चिएका थिए । भारतले अतिरिक्त रुपमा पनि १२ रन पाएको थियो ।

  • प्रकाशित मिति : मंसिर ४, २०८०, सोमवार ०६:०८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८