• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026

बडादसैँले सकारात्मक ऊर्जा थप्ने राष्ट्रपतिको कामना

  • रासस

बडादसैँले सकारात्मक ऊर्जा थप्ने राष्ट्रपतिको कामना

कात्तिक ७, २०८०

चितवन। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८० का अवसरमा देश–विदेशमा रहेका नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु, एवं उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले सत्यको विजय र असुरी चरित्रको पराजय, दुराचारमाथि सदाचारको जीत, आपसी सद्भाव, भ्रातृत्व र पुनर्मिलनको प्रतीक पनि भएकाले यस पर्वले विकृति, विसङ्गति अन्त्य गर्दै सामाजिक सद्भाव, एकता, मेलमिलाप र भ्रातृत्वको अभिवृद्धि गर्न हामी सबैलाई प्रेरित गर्ने छ भन्ने विश्वास व्यक्त गरेका हुन् । यस पर्वले सबै नेपालीलाई आ–आफ्नो क्षेत्रबाट न्याय र समानतासहितको आर्थिक समृद्धि प्राप्त गर्ने सामथ्र्य प्रदान गरोस् भन्ने पनि उनले कामना गरे ।

“हाम्रो मुलुकमा परम्परागतरुपमा हर्षोल्लासपूर्वक मनाउने गरिएका यस्ता चाडपर्वले भौगोलिक, सांस्कृतिक र भाषिक विविधताबीच रहेको हाम्रो मौलिकतालाई थप सुदृढ गर्नुका साथै सांस्कृतिक एकता र पहिचानलाई अक्षुण्ण राख्न पनि थप योगदान गरिरहेका छन्”, राष्ट्रपति पौडेलले शुभकामना सन्देशमा भनेका छन्, “बडादसैँ पर्वको संरक्षण एवं सम्वद्र्धनबाट राष्ट्र र राष्ट्रियताप्रति अटल सम्मान र गहिरो प्रेमको भावना जागृत गर्न सहयोग पुग्न सक्छ भन्ने मलाई लाग्छ ।”

उनले नयाँ उत्साह, उमङ्ग, असल कामलाई हौसला प्रदान गर्न र सकारात्मक ऊर्जा थप्ने प्रेरणा देओस् भन्ने कामना पनि गरेका छन् ।

  • प्रकाशित मिति : कात्तिक ७, २०८०, मंगलवार ०६:२६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८