• जेठ २, २०८१, बुधवार Wednesday, 15 May, 2024

पाँच लाखमा शिशु बेच्ने डाक्टर सहित तीनजना जेल चलान

  • खबरदाता

पाँच  लाखमा शिशु बेच्ने डाक्टर सहित तीनजना जेल चलान

असोज २५, २०८०

 

नवजात शिशु बिक्री प्रकरणमा पक्राउ परेका डाक्टर तपेश्वरलाल कर्णसहित तीन जना पुर्पक्षका लागि जेल चलान भएका छन्।

जिल्ला अदालत मोरङका न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजलासले बुधबार डाक्टर कर्णसहित कटहरी-४ का सूर्यनारायण राजवंशी र भोजपुरको हतुवा गढी गाउँपालिका–४ घर भएका २७ वर्षीय गोविन्द राईलाई पुर्पक्षका लागि जेल पठाउने आदेश दिएको हो।

नवजात शिशु बेपत्ता पारेको कसुरमा ६ जनाविरूद्ध मुद्दा दायर भएको थियो। यसमध्ये तीन जना पुर्पक्षका लागि थुनामा गएका छन् भने तीन जना धरौटीमा रिहा भएका छन्।

मोरङ कटहरी– २ आदर्शटोलकी ३३ वर्षीया सुधा भन्ने सुक्री राजवंशी दुई लाख रूपैयाँ, सिरहाको कल्याणपुर नगरपालिका १२ की ३८ वर्षीया नर्स निर्मला यादव एक लाख रूपैयाँ र ४७ वर्षीया दिलमनी देवी राजवंशीलाई दस हजार रूपैयाँ धरौटी रकम लिएर रिहा गर्ने आदेश भएको मोरङ अदालतका सूचना अधिकारी होम सुवेदीले जानकारी दिए।

जिल्ला सरकारी वकिलको कार्यालयले पक्राउ परेका ६ जना प्रतिवादीविरूद्ध अपहरण तथा व्यक्ति वेपत्ता, एकीकृत कसुर सम्बन्धी मुद्दा दायर गरेको थियो।

भोजपुर हतुवागढी–४ का २७ वर्षीय अविवाहित गोविन्द राई र उनकी २६ वर्षीया प्रेमिकाको सम्बन्धबाट असार १४ मा शिशु जन्मिएकी थिइन्।

विराटनगरको ग्रीनक्रस अस्पतालमा सामान्य अवस्थामा जन्मिएकी शिशुलाई डा. कर्णले मोरङको कटहरी–२ आदर्श टोलका सूर्यनारायण राजवंशी दम्पतीलाई ५ लाख रूपैयाँमा बिक्री गरेको खुलेको थियो। कर्णको क्लिनिक ग्रीनक्रस अस्पताल नजिकै छ। आफ्नो क्लिनिकमा आएकी गर्भवती युवतीलाई ग्रीनक्रसमा सुत्केरी गराएर अस्पतालकी सफाइ कर्मचारी सुधा राजवंशी र क्लिनिककी सहयोगी नर्स निर्मला यादवमार्फत डा। कर्णले शिशु बिक्री गरेको प्रहरीको अनुसन्धानले पुष्टि गरेको छ।

डा. कर्णले शिशुको व्यवस्थापनका लागि अविवाहित बाबुसँग पनि ३५ हजार रूपैयाँ लिएको पुष्टि भएको छ।

  • प्रकाशित मिति : असोज २५, २०८०, बिहीवार ०६:१६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८