• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026

जहाजको पर्खाइमै गयो हुम्लाका चार बालकको ज्यान

  • खबरदाता

जहाजको पर्खाइमै गयो हुम्लाका चार बालकको ज्यान

साउन ३१,२०८०

 

दुर्गम हिमाली जिल्ला हुम्लाका नागरिकले जहाजको पर्खाइमा ज्यान गुमाउनु परेको छ। खराब मौसमका कारण जिल्लामा नियमित उडान हुन नसक्दा पछिल्लो एक महिनामा चार बालकको ज्यान गएको छ।

विभिन्न रोगबाट पीडित बिरामी अन्यत्र लैजान जिल्ला अस्पतालले रिफर गरे पनि यातायातको सुविधा नहुँदा अस्पतालको शय्यामै ज्यान गुमाएका हुन्। जिल्लाको एक मात्र सिमकोट विमानस्थलमा लामो समयदेखि हवाई उडान नहुँदा बिरामी मर्कामा परेका छन्।

सिमकोट गाउँपालिका-६, माथिल्लो गाउँका ६ महिनाका इमरान सुनार, सिमकोट-७, डाँडाफयाका सात महिनाका रोहित शाही, खार्पुनाथ-१,लालीका १७ महिनाका आर्यन परियार र चङ्खेली-४ का पाँच महिनाका बालक सन्देश लुहारको उपचार अभावमा ज्यान गएको जिल्ला अस्पतालकी सिनियर अनमि सरिता बोहराले बताइन्।

‘हवाई सेवा प्रभावित हुँदा गम्भीर प्रकृतिका बिरामीलाई अन्यत्र लैजान सकिएको छैन,’ उनले भनिन्। नागरिक उड्डयन प्राधिकरणले हिमाली जिल्लामा मध्याह्न साढे १२ बजेपछि उडान गर्न नपाइने नयाँ नियम लागू गरेसँगै हुम्लामा हवाई सेवा नियमित छैन। बर्खाका बेला हुम्लामा बिहान मौसम खराब रहने र प्राधिकरणको नयाँ नियमानुसार साढे १२ बजेपछि उडान गर्न नपाइने भएकाले बिरामीलगायत अत्यावश्यक कामले जिल्लाबाहिर जानुपर्नेहरू बढी समस्यामा परेका छन्।

जिल्ला अस्पतालले उपचार हुन नसक्ने भन्दै रिफर गरेका ६ महिनाका इमरानको जहाज उडान नियमित नहुँदा उपचारका जिल्लाबाहिर लैजान नसक्दा मृत्यु भएको बालकका बुबा सिमकोट गाउँपालिका-६ का सूरज सुनारले गुनासो गरे। आर्थिक अवस्था कमजोर हुनाका साथै जिल्लामा हवाई सेवा सञ्चालन नहुँदा छोरा गुमाउनु परेको उनले दुःखेसो पोखे।

अस्पतालका चिकित्सक डा। रोशन रावतका अनुसार सुनारलाई यही साउन १७ गते उपचारका लागि अन्यत्र लैजान सिफारिस गरिएको थियो। निमोनिया भएपछि उनलाई साउन १४ गते अस्पताल भर्ना गरिएको थियो। ‘बालकमा निमोनिया, झाडापखालालगायत समस्या थियो, यहाँ उपचार सम्भव भएन,’ उनले भने। सुनारको यही साउन २६ गते अस्पतालमै मृत्यु भएको हो।

 

  • प्रकाशित मिति : साउन ३१, २०८०, बुधवार १६:३३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८