• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

लीलामणिपछि अब बयानको पालो माधव र बाबुरामको

  • खबरदाता

लीलामणिपछि अब बयानको पालो माधव र बाबुरामको

साउन ३०, २०८०

 

बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उच्च तहका अधिकारीमाथि अनुसन्धान केन्द्रित गरेको छ । सर्वोच्च अदालतले यो प्रकरणमा मन्त्रिपरिषद्का निर्णयमाथि पनि अनुसन्धान गर्न भनेपछि सिआइबीले तत्कालीन मुख्यसचिव लीलामणि पौड्यालसँग बयान लिएको छ । उनीसँग सिआइबीले आइतबार दिउँसो ४ घण्टा बयान लिएको हो ।

पौड्यालको बयान लिएसँगै अब सिआइबीले अनुसन्धान तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई र माधवकुमार नेपालमाथि पनि केन्द्रित गरेको छ । सिआइबी स्रोतका अनुसार जुनसुकै बेला नेपाल र भट्टराईको बयान लिन सकिन्छ ।

यो प्रकरणमा सिआईबीले संगठित अपराध र मुलुकी ऐनको किर्ते महलअन्तर्गत अनुसन्धान गरिरहेको छ ।

यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईसँग बयान लिएको थियो । तर, मन्त्रिपरिषद्को नीतिगत निर्णयमाथि भ्रष्टाचार मुद्दा चलाउन नमिल्ने प्रावधानका कारण मन्त्रीहरूविरुद्धसम्म मुद्दा चलेको थियो ।

तत्कालीन मन्त्रीहरू विजयकुमार गच्छदार, डम्बर श्रेष्ठ, चन्द्रदेव जोशीलगायतविरुद्ध पक्राउ पुर्जी नै जारी भइसकेको छ ।

  • प्रकाशित मिति : साउन ३०, २०८०, मंगलवार ०६:०५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८