साउन – १५, २०८०
जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका चार प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ । कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा आज मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।
भारी वर्षाका कारण हुनसक्ने नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षय जस्ता प्रकोपबाट बच्न आवश्यक सतर्क हुन विभागले आग्रह गरेको छ । भारी वर्षा, बाढी र पहिरोका कारण जन–स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुनसक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि विभागले अनुरोध गरेको छ ।
विभागका अनुसार आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कोसी, वाग्मती र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
विभागका अनुसार आज दिउँसो देशभर सामान्य बदली रहनेछ । पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
आज राति देशभर सामान्य बदली रहनेछ । कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
नेपालमा अहिले मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा उत्तरतर्फ र पूर्वतिर सरदर स्थानको आसपासमा रहेको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८