असार २५,२०८०
कोसी प्रदेशमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का कान्छा ज्वाइँ जीवन आचार्य फेरि मन्त्री नियुक्त भएका छन् । अघिल्लो पटक एमाले सरकारमा मन्त्री रहेका आचार्य सरकार ढलेर कांग्रेस नेतृत्वमा जाँदा फेरि मन्त्री बनेका छन् । उनलाई आइतबार मुख्यमन्त्री उद्वव थापाले आर्थिक मामिलामन्त्री बनाएका छन् । २१ असारमा मुख्यमन्त्री बनेका थापाले दुई पटक मन्त्रिपरिषद् विस्तार गर्दा पनि ६ सदस्यीय मात्र छ । अझ रोचक त प्रचण्डका ज्वाइँलाई शक्तिशाली मन्त्रालय दिइए पनि अरु विनाविभागीय छन् ।
आचार्य अघिल्लो सरकारमा वन तथा पर्यटन मन्त्री थिए । कोसीमा १३ सांसद रहेर तेस्रो दल रहेको माओवादीभित्र प्रचण्डका ज्वाइले मात्र अवसर पाएको भन्दै माओवादीभित्रै असन्तुष्टि छ । मोरङ९६ को १ बाट निर्वाचित आचार्य माओवादीभित्र ‘जुनयिर’ हुन् । प्रचण्डपुत्री गंगा दाहालका पति आचार्य बिहेपछि मात्रै माओवादीसँग जोडिएका थिए । मोरङ बुढिगंगाका बासिन्दा आचार्यले गंगासँग बिहे गरेपछि २०७५ मा एकैपटक पार्टीको प्रदेश कमिटी सदस्यमा अवसर पाएका थिए।
माओवादीका उदयपुरका सांसद नारायण बुर्जा मगरले आइतबार फेसबुकमा स्टाटस लेख्दै आफूले पदबाट राजीनामा दिने मनस्थिति बनाएको बताएका छन्। माओवादी नेताहरुका अनुसार आइतबार बिहानसम्म पनि माओवादीबाट मन्त्री हुनेको नाममा बुर्जाको नाम सामेल थियो। तर, सपथ लिने बेलामा प्रधानमन्त्री प्रचण्डका ज्वाइँ रहेका जीवन आचार्य र राजेन्द्र कार्कीको नाम परेपछि माओवादीमा असन्तुष्टि चुलिएको छ। पार्टीमा दुई दुई पटक चुनाव जित्दा पनि पार्टीले न्यायोचित मुल्यांकन गर्न नसकेको भन्दै उनले कोशी प्रदेश सरकार गठनप्रति आफ्नो विमति भएको उनले बताए ।
त्यति मात्र होइन मन्त्रिपरिषद् विस्तारमा गठबन्धनकै घटक एकीकृत समाजवादीले समेत असन्तुष्टि जनाएको छ। गठबन्धनमा छलफल नै नगरी मन्त्रिपरिषद् विस्तार गरिएको भन्दै एकीकृत समाजवादीका प्रदेश संसदीय दलका नेता राजेन्द्र राइले सरकारलाई विश्वासका मत दिनेनदिनेबारे समेत सोच्नुपर्ने बताए।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८