• वैशाख २३, २०८१, आइतवार Sunday, 05 May, 2024

पढाइ छाडेको २१ वर्षपछि वडाध्यक्ष एसईई उत्तीर्ण

  • रासस

पढाइ छाडेको २१ वर्षपछि वडाध्यक्ष एसईई उत्तीर्ण

असार २२, २०८०

 

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–१ कुहुँका वडाध्यक्ष एकजित रोकाले पढाइ छाडेको २१ वर्षपछि एसईई परीक्षामा उत्तीर्ण भएका छन् ।

माध्यमिक शिक्षा परीक्षा, २०७९ (एसईई) मा दीपशिखा मावि कुहुँबाट परीक्षामा सहभागी भएका वडाध्यक्ष रोकाले २.६५ जिपिए ल्याएर उत्तीर्ण भएका हुन् । विसं २०५८ मा एसएलसी परीक्षामा सामेल भएका रोकाले अनुत्तीर्ण भएपछि पढाइ नै छाडेका थिए ।

एसएलसीमा फेल भएपछि उनले वैदेशिक रोजगारको सिलसिलामा मलेसिया र अफगानिस्तानमा आठ वर्ष बिताएका थिए । उनी २०६९ सालमा घर फर्किएका थिए।

घर फर्किएपछि रोका स्थानीय देउराली युवा क्लबलगायतका सङ्घ संस्थामा आबद्ध भए । उनी गत वर्षको स्थानीय तह निर्वाचनमा नेकपा (एमाले)बाट उम्मेदवार बनेर वडाध्यक्षमा निर्वाचित भएको थिए। सामाजिक र राजनीतिक जीवन सुरु गरेपछि धेरै आफन्तबाट पढाइलाई निरन्तरता दिन सुझाव आएको र आफूलाई समेत पटक–पटक पढाइको आवश्यकताको महसुस भएपछि एसईई परीक्षा दिएको वडाध्यक्ष रोकाको भनाइ छ ।

यसैबीच, राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा २०७९ (एसईई) को नतिजामा म्याग्दीका एक विद्यार्थीले ४ जिपिए ल्याउन सफल भएका छन् । सदरमुकाम बेनीस्थित प्रकाश माध्यमिक विद्यालयका समिर सुवेदीले ४ जिपिए नतिजा ल्याएका हुन् ।

शिक्षा विकास तथा समन्वय एकाइका एकाइ प्रमुख दलबहादुर थापाले यस वर्षको एसइई परीक्षामा म्याग्दीबाट सहभागी विद्यार्थीमध्ये सुवेदीले ४ जिपिए ल्याएर सर्वोकृष्ट बन्न सफल भएको बताए ।

  • प्रकाशित मिति : असार २२, २०८०, शुक्रवार १५:१३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८