असार २०,२०८०
ललिता निवासको जग्गा घोटालासँग जोडिएका १७ जनालाई पक्राउ नगर्न दिएको अन्तरिम आदेश खारेजीको माग गर्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सर्वोच्च अदालतमा निवेदन दिएपछि न्याय क्षेत्रमा अर्को तरंग पैदा भएको छ । १७ जनाले आफूलाई पक्राउ गर्न सक्ने सम्भावना रहेको भन्दै दिएको रिट निवेदनमा सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडाले गत वर्ष एकतर्फी सुनुवाइ गरी उनीहरूकै पक्षमा आदेश गरिदिएका थिए । त्यस आदेशलाई लिएर सीआईबीले सर्वोच्चमै चुनौती दिएपछि न्यायाधीश खतिवडाको नैतिकता र इमानसमेत बहसको विषय बनेको छ ।
हुन पनि सीआईबीले बालुवाटारस्थि ललिता निवासको १४३ रोपनी जग्गा घोटाला प्रकरणमा सरकारी लिखत किर्तेको कसुरमा गत मंगलबार ७ जनालाई पक्राउ गरेको थियो । तर तीमध्ये ३ जनाले खतिवडाले पहिला नै उनीहरुका पक्षमा दिएको अन्तरिम आदेश देखाउँदै प्रहरीले थुन्न र अनुसन्धान समेत गर्न नपाउने जिकिर लिए । २०७९ साउन १९ मा जारी भएको सोही आदेशका कारण १२ असारमा पक्राउ परेका मालपोत कार्यालय डिल्लीबजारका पूर्वप्रमुख कलाधर देउजा, अधिकृत सुरेन्द्रमान कपाली र हुपेन्द्रमणि केसीलाई सीआईबीले सोही दिन कागज गराएर थुनामुक्त गर्नुपरेको थियो ।
अझ त्यही आदेशमा टेकेर सुधीरकुमार शाह, धर्मप्रसाद गौतम र मीनबहादुर गुरुङले पनि आफू छुट्न पाउनुपर्ने भनी सर्वोच्चमै बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका छन् । उक्त रिटमा सुनुवाइ गर्दै न्यायाधीश कुमार चूडालको एकल इजलासले २४ घण्टाभित्र लिखित जवाफ पेस गर्न आदेश दियो । सीआईबीले सोमबार लिखित जवाफ बुझाउने क्रममा गत वर्षको साउन १९ गते सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासबाट जारी भएको अन्तरिम आदेश पनि खारेजीको मागसहित निवेदन दिएको छ। अहिले पक्राउ परेका व्यक्तिलाई छाडिए अनुसन्धान पूर्णरुपले प्रभावित हुने सीआईबीको तर्क छ ।
सीआईबीले दर्ता गराएको निवेदनमा यस प्रकरणमा मुछिएकाहरु उद्योगी, व्यवसायी एवं प्रभावशाली व्यक्ति भएकाले उनीहरुलाई थुनामा नराखी अनुसन्धान गर्दा साक्षी तथा जाहेरवालालाई प्रभावमा पार्न सक्ने, सबुद प्रमाण नष्ट गर्न सक्ने, अन्य प्रतिवादीहरुलाई भाग्न मद्दत गर्न सक्ने प्रबल सम्भावना देखिएको उल्लेख छ । त्यसैगरी उनीहरुलाई थुनामा नराखी अनुसन्धान गर्दा पूर्णरुपले अनुसन्धान प्रभावित भई तथ्यपरक अनुसन्धान गर्न र अपराधको सञ्जाल पहिचान तथा तहकिकातमा कठिनाइ हुने सीआईबीको निष्कर्ष छ । साथै आरोपीहरुको बयान गराउने कार्य बाँकी नै रहेको हुँदा उनीहरुलाई थुनामा नै राखी मुद्दाको अनुसन्धान गर्नुपर्नेलगायत आधार कारणसहित सीआईबीले खतिवडाको आदेश खारेजीको माग गरेको हो ।
यता बन्दी प्रत्यक्षीकरणको रिट भने मंगलबार पेसी तोकिए पनि सुनुवाइ हुन सकेन । न्यायाधीश आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयालको इजलासमा पेसी तोकिएको थियो । बालुवाटार जग्गा प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहलगायत ९ जना सीआईबीको नियन्त्रणमा छन् । मुलुकी ऐन, २०२० अन्तर्गत सरकारी लिखत किर्तेको कसुरमा अनुसन्धान गरिरहेको सीआईबीले मंगलबार संगठित अपराध कसुरमा पनि अनुसन्धान गर्न अनुमति लिएको छ।
संगठित रुपमा किर्ते गरेर जग्गा हडपिएको भन्दै संगठित अपराधको मुद्दा चलाउने तयारीमा सीआईबी लागेको हो । संगठित अपराधसम्बन्धी अनुसन्धानमा प्रहरीले ६० दिनसम्म आरोपीलाई हिरासतमा राख्न पाउँछ भने जुनसुकै समयमा जाहेरी लिन सक्छ । यसका लागि कुनै हदम्याद कानुनले तोकेको छैन । २०४९, २०६२, २०६७ र २०६९ सालमा गरी चार पटक व्यक्ति र गुठीको नाममा ल्याएर १४३ रोपनी सरकारी जग्गा हत्याइएको यस प्रकरणमा ४०६ जनाविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ । अब खतिवडाको आदेश खारेज भएपछि सीआईबीले थप आरोपीलाई पनि पक्रेर मुद्दा अदालतमा बाटो खुल्नेछ । तर यो आदेश गर्दा खतिवडाले कुनै नियतका साथ गरेका थिए भन्ने पनि खोजीको विषय हुन सक्छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८