• असार २७, २०८३, शनिवार Saturday, 11 July, 2026

 राष्ट्रपति पौडेलको मुटुको शल्यक्रिया, पेसमेकर राखियो

  • खबरदाता

 राष्ट्रपति पौडेलको मुटुको शल्यक्रिया, पेसमेकर राखियो

असार ५, २०८०

 

 

राष्ट्रपति रामचन्द्र पौडेलको मुटुको शल्यक्रिया गरिएको छ । महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत राष्ट्रपति पौडेलको मंगलबार दिउँसो छातीको शल्यक्रिया गरिएको हो ।

अस्पतालका कार्यकारी निर्देशक डा।रत्नमणि गजुरेलले ७२ घण्टाको नियमित निगरानीपछि मुटुको चाल बेला बखतमा कम देखिएकाले विशेषज्ञहरूको सल्लाहबमोजिम शल्यक्रिया गरी पेसमेकर राखिएको बताए । पेसमेकरले मुटुको चाल बनाइराख्ने काम गर्छ ।

गत शनिबार राति अचानक स्वास्थ्य अवस्था असामान्य बनेपछि राष्ट्रपति पौडेललाई अस्पताल पुर्‍याइएको थियो । त्यसयता निरन्तर चिकित्सकहरुको निगरानीमा अस्पतालको सीसीयूमा राखेर उपचार भइरहेकोमा मंगलबार दिउँसो छातीको शल्यक्रिया भएको हो । अस्पतालका अनुसार राष्ट्रपतिको मुटुको धड्कनलाई सामान्य राख्न छातीको शल्यक्रिया गरेर स्थायी पेसमेकर राखिएको छ।

अस्पतालका अनुसार मंगलबार मध्याह्न १२ बजेदेखि दिउँसो २ बजेसम्म लगाएर चिकित्सकहरूले शल्यक्रिया गरेका हुन्। हाल पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको छ । गत मंगलबार पौडेलले सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीमा पनि उपचार गराएका थिए। बाँसबारीमा एन्जिओप्लास्टी गरेर बन्द भएको मुटुको नशा खुलाइएको थियो।

राष्ट्रपति पौडेल अढाई महिनामै पाँचौँ पटक अस्पताल भर्ना भएका हुन् । अल्सर, ढाड दुख्ने र छातीसम्बन्धी समस्याबाट मुक्त नहुँदै ७९ वर्षीय राष्ट्रपति पौडेललाई पछिल्लो पटक मुटुको समस्या देखिएको हो ।

  • प्रकाशित मिति : असार ५, २०८०, मंगलवार १६:३६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८