• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

फेरिएका प्रचण्ड : महाकालेश्वरमा गेरुवस्त्रदेखि पशुपतिको दर्शन सम्म

  • खबरदाता

फेरिएका प्रचण्ड : महाकालेश्वरमा गेरुवस्त्रदेखि पशुपतिको दर्शन सम्म

जेठ २८, २०८०

 

कुनै बेला धर्मलाई अफिम भन्ने र जनयुद्धका नाममा मठमन्दिर भत्काउँदै हिँड्ने माओवादी आन्दोलनको नेतृत्व गरेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ फेरिएका छन् । अहिले उनी गेरु बस्त्रमा मठमन्दिर धाउन थालेका छन् । यो सब प्रचण्डको तेस्रो सत्ताआरोहणमा सम्भव भएको हो ।गत वर्ष १० पुसमा तेस्रो पटक प्रधानमन्त्री बनेका प्रचण्डले त्यसको भोलिपल्ट नेपालको ४४ औं प्रधानमन्त्रीका रुपमा सपथ ग्रहण गरे । त्यसअघि कोट पाइन्टमा ठाँटिएर शपथ ग्रहण गर्ने प्रचण्डले यसपटक नेपाली पोशाक दौरा सुरुवालमा सपथ लिए ।

प्रचण्डको धार्मिक रुप अझ त्यसमा पनि गेरुबस्त्रधारी रुप हेर्न भने भारत जानु पर्यो । उनी १७ जेठमा भारत भ्रमणमा निस्किदा उज्जैनस्थित महाकालेश्वर मन्दिरमा पूजाअर्चना गरे । सो क्रममा उनले नेपालबाट लगेको १०८ केजी रुद्राक्ष र ५१ हजार रुपैयाँ दान गरे। भारतको १२ ज्योतिर्लिङ्ग मध्ये महाकालेश्वर पनि एक हो ।

भारतमा गएर गेरु बस्त्रमा धार्मिक गतिविधि गरेर प्रचण्डले भारतीय सत्तासँग नजिक उभिने प्रयास गरेका थिए । भारतमा भाजपा नेतृत्वको सत्ता छ, जुन कट्टर हिन्दुवादी हो ।

गेरुबस्त्र धारण गर्न अनि मठमन्दिर धाउन पनि भारत नै जानुपर्ने, नेपालको पशुपतिनाथ मन्दिरमा किन गएनन् रु भनेर आलोचना भइरहेका बेला प्रचण्डले शनिबार फेरि अर्को तम्का दिएका छन् । प्रचण्डले शनिबार पशुपतिनाथको मन्दिर दर्शन मात्र गरेनन् ५१ हजार रुपैयाँ भेटी चढाए ।
प्रचण्डसँग अर्थमन्त्री प्रकाशशरण महत, परराष्ट्रमन्त्री नारायणप्रसाद साउद, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, उर्जामन्त्री शक्ति बस्नेत, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाललगायत सहभागी थिए ।

यसअघि प्रचण्ड पशुपतिनाथमा औपचारिक दर्शनका लागि गएका थिएनन् ।
०६५ मा पहिलो पटक प्रधानमन्त्री हुँदा प्रचण्डले पशुपतिनाथको मूल पुजारी नेपाली नियुक्ति गर्दा ठूलो विवाद भएको थियो । त्यसको केही समयपछि त्यो निर्णय उल्टिएको थियो ।

  • प्रकाशित मिति : जेठ २८, २०८०, आइतवार ०६:१५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८