बैशाख ५, २०८०
हिजोसम्म विभिन्न बहानाबाजीमा संवैधानिक परिषदको बैठक लामो समय बस्न दिइएन । परिषदको सचिवालयसमेत रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले त अझ कानुन नै जीवित नरहेको भनेर परिषद बैठक तत्काल बस्न नसक्ने लिखित जानकारी नै सार्वजनिक गरेर अर्को अन्योल सिर्जना गरिदयो । सरकारले पनि कानुनी रिक्तता अन्त्य गर्न भनेरै संवैधानिक परिषद ऐनमा संशोधनसमेत प्रस्ताव गरी गत फागुन १२ गते संसद सचिवालयमा विधेयक दर्ता गराएको छ । तर अहिले राजनीतिक तहमा कानुनी रिक्तता नै नरहेको निष्कर्ष निकालेर तत्कालै बैठक डाकी प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने समझदारी गरिएको छ ।
सोमबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा पुगे । बिरामी ओलीको स्वास्थ्य लाभको कामना गर्दै उनीहरुले प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढाउने समझदारी पनि गरे । त्यसका लागि तत्कालै संवैधानिक परिषदको बैठक बोलाउने सहमति भएको नेताहरुले बाहिर आएर बताए । नभन्दै शुक्रबार बिहान ९ बजेका लागि बैठक बोलाइसकिएको पनि छ ।
देशको न्यायालय १४ महिनाभन्दा बढी समयदेखि कामचलाउ नेतृत्वको भरमा चलिरहेको छ । गत मंसिरसम्म तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा निलम्बित अवस्थामा रहेकाले नयाँ नियुक्त गर्न नसकिए पनि उनको अवकाश हुनुभन्दा एक महिनाअगावै नयाँ नियुक्तिको प्रक्रिया थाल्नुपर्ने संवैधानिक बाध्यता थियो । तर थप चार महिना त्यसै बितिसकेका छन् । संवैधानिक परिषदको समेत सचिवालय मानिने प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले गत फागुन १७ गते कानुन अभावमा संवैधानिक परिषद बैठक बस्न नसकेको जनाएको थियो । अर्थात् तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ वैशाखमा अध्यादेश ल्याएपछि निष्क्रिय भएको कानुन संसदबाट पुनः जगाइएको छैन । यही कारण देखाएर चार महिनासम्म संवैधानिक परिषदको बैठक नडाकिएको अवस्थामा अब कसरी बैठक बस्छ र प्रधानन्यायाधीश सिफारिस गर्छ भन्ने प्रश्न उठेको छ।
प्रधानन्यायाधीश वा संवैधानिक निकायका कुनै प्रमुख वा पदाधिकारीको पद नियमित कारणले रिक्त हुन लागेको अवस्थामा एक महिना अगावै नियुक्तिका लागि सिफारिस गर्नुपर्ने व्यवस्था संविधानमै छ । भवितव्य परी पद रिक्त हुन गएकोमा त्यसको एक महिनाभित्र नियुक्तिको व्यवस्था गरिसक्नुपर्छ । तर हिजो कानुनी रिक्तता देखाएर टारिएको परिषदको बैठक एकाएक अहिले नयाँ व्यवस्थाबिनै बोलाउन गरिएको राजनीतिक सहमति वैधानिकताको कसीमा कति परिपक्व हुन्छ भन्ने प्रश्न त छँदै छ । दलहरू आफ्नो रुचिअनुसार संविधान र कानुननको व्याख्या र अपव्याख्या गर्नसमेत पछि पर्दैनन् भन्ने उदाहरण पनि हो यो ।
अझ यहाँ त प्रधानन्यायाधीश नियुक्त हुन नसक्नुको कारण एउटा मात्र छैन । अनेक कारण जीवित छन् । जस्तो कि संवैधानिक परिषदले सिफारिस गर्दैमा नियुक्ति भइहाल्दैन । एकातिर संवैधानिक परिषद पूर्ण छैन । कानुनमन्त्री नियुक्त गरिएकै छैन । अपूर्ण परिषदले कानुनबिनै सिफारिस गरिहाले पनि त्यसलाई अगाडि बढाउन तत्काल संसदीय सुनुवाइ समिति छैन । संसदीय सुनुवाइ समिति दुवै सदनको संयुक्त समिति हो । संयुक्त समिति बनाउनुअघि संयुक्त बैठकको नियमावली बन्नुपर्छ । अहिलेसम्म यसको कुनै सुरसारै गरिएको छैन । अबका केही दिनमा सदनको अधिवेशन नै अन्त्य गरिहाल्नुपर्नेछ । किनभने त्यसो नगरे अब बजेट अधिवेशन बोलाउन ढिला हुनेछ ।
नीति तथा कार्यक्रम र पूर्वबजेट छलफल वैशाखभित्रै सक्नुपर्ने भएकाले पनि अब चालु अधिवेशन आजभोलि नै अन्त्य गरेर केही दिनमा बजेट अधिवेशन बोलाउनुपर्ने हुन्छ । यी गर्नैपर्ने कानुनी पूर्वाधारका काम नगरी राजनीतिक तहमा प्रधानन्यायाधीश नियुक्तिको सहमति गर्नु भनेको सारा दुनियाँलाई उल्लु बनाउने कामबाहेक अरु केही होइन ।
बरु यहाँनिर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले के चलाकी गरेका हुन सक्छन् भने कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई प्रधानन्यायायाधीश बनाइदिन्छु भनेर सिफारिस गरेजस्तो गरिदिने र आफूविरुद्धको द्वन्द्वकालीन मुद्दा प्रभावित पार्ने । तरबार बेचुवा र घिउ बेचुवाको यो शैली निकै पुरानो तर अद्यापि उपयोगी किस्सा प्रचण्डले पुनः प्रयोग गरेका हुन् र त्यसै जालमा न्यायालय फस्ने हो भने त्यो अर्को दुर्भाग्य हुनेछ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८