वैशाख ४,२०८०
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको घरको छतबाट खसेर उनका गाडी चालक गम्भीर घाइते भएका छन्।
सोमबार विहान ४ बजेतिर भरतपुर–११ स्थित लामिछानेको घरको छतबाट लडेर उनका निजी चालक सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ घर भएका ३९ वर्षीय शम्भु भनिने दिलबहादुर थापा घाइते भएका हुन्।
उनको खुट्टा र टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए।
प्रहरीका अनुसार तनहुँमा चुनावी प्रचारप्रसार सकेर लामिछानेसहितको टोली आइतबार बेलुका चितवन आइपुगेका थिए।
लामिछाने सो घरको भुईँ तलामा सुतेका थिए। दोस्रो तलामा दिपक बोहरा लगायतका टोली सुतेका थिए।
तेस्रो तलामा पार्टीका प्रवक्ता मुकुल ढकाल, उनका सवारी चालक र लामिछानेका सवारी चालक दिलबहादुर सुतेका थिए। दिलबहादुर बिहान छतबाट खसेको अवस्थामा भेटिएका हुन्।
गम्भीर घाइते भएका थापाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ। घटनाको विषयमा अनुसन्धान भइरहेको डिएसपी पण्डितले बताए।
लामिछानेसहितको टोली चुनावी प्रचारप्रसारका लागि आज बारा जाने कार्यक्रम थियो।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८