चैत – २१, २०७९
नेपालमा कोरोना भाइरसको संक्रमण फेरि उकालो लागेको छ । स्वास्थ्य तथा जनसंखया मन्त्रालयका अनुसार सोमबार थप ७६ जनामा कोरोना भाइरस पुष्टि भएको छ । ३४५ पीसीआर र ८०६ एन्टिजेन परीक्षण गर्दा क्रमशः ४९ र २७ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या २२७ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो एक सातायता कोरोना संक्रमितको संख्या बढ्न थालेको हो । आइतबार सात सय १ जनामा परीक्षण गर्दा थप ३८ जनामा कोरोना भाइरस पुष्टि भएको थियो । त्यस्तै, यसअघि १८ चैतमा ३८, चैत १७ मा ७९,चैत १६ मा ४२, चैत १५ मा ३४,१४ चैतमा २४ र १३ चैतमा ६९मा कोरोना पुष्टि भएको थियो ।
भारतमा कोभिड संक्रमितको संख्या बढ्दै गएका बेला नेपालमा पनि बढेको स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा समीरकुमार अधिकारीले बताए। भारतमा ओमिक्रोनका प्रजाति मिलेर बनेको नयाँ हाइब्रेट एक्सबीबी १.१६ तीव्रगतिमा बढिरहेकाले त्यसको असर नेपालमा पनि देखिएको हो ।स्वास्थ्य मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड पालना गर्न भनेको छ भने सीमानाकाबाट आवतजावत यात्रुको हेल्थ डेस्कमा अनिवार्य परीक्षण गराउन पनि मन्त्रालयले आग्रह गरेको छ । सीमानाकामा कसैलाई पोजेटिभ देखिएमा नजिकैको अस्पतालमा उपचार गर्ने व्यवस्थासमेत मिलाइएको मन्त्रालयको भनाइ छ ।
ओमिक्रोनको नयाँ भेरियन्ट फेलानेपालमा पनि ओमिक्रोनको नयाँ भेरियन्ट फेला परेको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार नेपालमा ओमिक्रोनको नयाँ भेरियन्ट एक्सबीबी १.१६ भेरियन्ट पुष्टि भएको हो ।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले देशभरिबाट लिएको ‘र्यान्डम स्याम्पलिङ’ विधिबाट लिएको २४ वटा पीसीआर तथा एन्टिजेन पोजिटिभ नमुनाहरूको जेनोम सिक्वेन्सिङ गर्दा सबै नमुनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको हो । परीक्षण गरिएका नमुनामध्ये १० वटामा ओमिक्रोन एक्सबीबी १.१६ पुष्टि भएको हो ।
यसैरी, २-२ वटा नमुनामा ओमिक्रोन बीए १.१, बीए २, ओमिक्रोन बीए ५, ओमिक्रोन बीए ५.२ पुष्टि भएको छ । त्यस्तै ३ वटा नमुनामा ओमिक्रोन एक्सबीबी १.५ पुष्टि भएको छ । त्यस्तै १र१ वटा नमुनामा बीए २.७६, एक्सबीबी २.६, एक्सबीएफ पुष्टि भएको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८