• वैशाख ११, २०८१, मंगलवार Tuesday, 23 April, 2024

सरकारले बढायो रासायनिक मलको मूल्य

  • खबरदाता

सरकारले बढायो रासायनिक मलको मूल्य

फागुन २९, २०७९

 

सरकारले रासायनिक मलमा दिंदै आएको अनुदान कटौती गरेको छ । अनुदान कटौतीसँगै अब सबै प्रकारका रासायिनक मलको मूल्य साविकको भन्दा महँगो हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलकाअनुसार २६ फागुन अघिको तुलनामा अब युरिया मल किलोमा ११ रुपैयाँ, डीएपी किलोमा ७ रुपैयाँ र पोटास किलोमा ९ रुपैयाँले महँगो भएको छ ।

 

बढेको मूल्यअनुसार अब युरिया मलको प्रतिकिलो किसान मूल्य २५ रुपैयाँ, डीएपीको ५० रुपैयाँ र पोटासको ४० रुपैयाँ कायम भएको छ । यस अघि १४ रुपैयाँमा युरिया, ४३ रुपैयाँमा डीएपी र ३१ रुपैयाँ किलोमा पोटास किन्न पाइन्थ्यो ।

सरकारले रासयानिक मलमा किसानलाई दिंदै आएको अनुदान घटाउने नीति लिएअनुसार सरकारले दिने अनुदान घटाउँदा किसानलाई बेच्ने मूल्य बढेको मन्त्रालयले जनाएको छ ।

 

२६ फागुन अघि मलमा समग्रमा ७० प्रतिशत किसान अनुदान रहेकामा त्यसलाई कटौती गरेर ५९.४ प्रतिशतमा झारिएको मन्त्रालयले जनाएको छ । ११.७८ प्रतिशतले अनुदान कटौती गर्दा किसानलाई मलको खरिद लागत बढेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयकाअनुसार युरिया मलको अनुदान ८०.११ प्रतिशतबाट घटाएर ६४.४९ प्रतिशत कायम गरिएको छ । यस्तै डीएपी मलको अनुदान ५९.४ प्रतिशतबाट घटाएर ५२.३८ प्रतिशतमा सीमित गरिएको छ भने पोटासमा दिंदै आइएको ५८।२ प्रतिशत अनुदानलाई घटाएर ४६.०९ प्रतिशत कायम गरिएको मन्त्रालयले जनाएको छ ।

अर्थ मन्त्रालयले मल माथिको परिनिर्भरता बढ्दै गएको भन्दै सरकारी लागत कम गर्न अनुदान घटाउन दिएको निर्देशनका आधारमा मलको मूल्य बढाउने निर्णय भएको मन्त्रालयले जनाएको छ । बढेको मूल्यमा मलको बिक्री र बजार अनुगमनका लागि मन्त्रालयले गृह मन्त्रालयलाई आग्रह समेत गरेको छ ।

  • प्रकाशित मिति : फागुन २९, २०७९, सोमवार १७:१० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८