फागुन २ १ २०७९
दाहालविरुद्ध सर्वोच्चमा ५ हजार हत्यासम्बन्धी मुद्दाः आफ्नै छलछामले निम्त्याएको छटपटी
काठमाडौं । द्वन्द्वका समयमा भएका व्यक्तिहत्यासम्बन्धी विषयमा रिट दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएपछि राजनीति तरंगित बनेको छ । शुक्रबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयालको इजलासले गरेको आदेशपछि प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहालले ३ वर्षअघि सार्वजनिक मञ्चबाटै ५ हजारको हत्याको जिम्मा लिने भनेर गरेको भाषण अब न्यायिक जाँचको विषय बनेको छ ।
खासमा शान्ति प्रक्रियाको महत्त्वपूर्ण अंग संक्रणकालीन न्यायको प्रक्रियालाई गम्भीरतापूर्वक नलिँदाको परिणामस्वरुप दाहाल हरेक पाइलामा यसैगरी दबाब र तनाव खेप्नुपर्ने अवस्थामा छन् । दाहालले तीन वर्षअघि काठमाडौंको खुलामञ्चबाटै द्वन्द्वकालमा मारिएका १७ हजारमध्ये ५ हजारको जिम्मा लिन तयार रहेको बताएका थिए । दाहालको त्यही अभिव्यक्तिलाई आधार मानी उनलाई तत्काल गिरफ्तार गरी हत्या अभियोगमा मुद्दा चलाउनुपर्ने माग राखी सर्वोच्चमा त्यतिखेरै निवेदनहरु परेका थिए । ती रिट दर्ता गर्न सर्वोच्च प्रशासनले अस्वीकार गरेको थियो । तर शुक्रबार दुई न्यायाधीशको इजलासले दर्ताका लागि आदेश दिएको छ । र, दाहालको त्यो अभिव्यक्ति अदालतको बहसको विषय बनेको छ ।
यो आदेश यस्तो समयमा आएको छ, जतिखेर नेपालले द्वन्द्वकालीन ज्यादतीका पीडितलाई न्याय दिन आनाकानी गरेको र दण्डहीनतालाई प्रश्रय दिएको भनेर अन्तर्राष्ट्रिय समुदायले नेपालमाथि प्रश्न उठाइरहेको छ । यस्तै प्रश्न झेल्नुपर्ने एउटा मञ्च संयुक्त राष्ट्र संघको मानव अधिकार परिषद हो, जसको बैठकमा नेपालको प्रतिनिधित्व नै विवादमा परेको छ। प्रधानमन्त्री दाहालले एमालेसँग सम्बन्ध बिग्रिएपछि उक्त बैठकमा हिँड्नै लागेकी परराष्ट्र मन्त्री विमला राई पौड्याललाई रोकेर कुनै सरकारी हैसियत नभएका पूर्वकानुनमन्त्री गोविन्द बन्दीलाई पठाएका थिए । त्यसमा पनि दाहालमा निहित डर नै मुख्य कारण रहेको देखाउँछ ।
त्यसो त यस्तै डरका कारण दाहालले यसअघि २०७३ असारमा तय भएको आफ्नो अस्ट्रेलिया भ्रमण नै अन्तिम समयमा स्थगित गरेका थिए भने २०७८ चैतमा सपत्नी अमेरिका जाँदा पनि निकै सतर्कता अपनाएका थिए । अन्तर्राष्ट्रिय समुदायबाट बारम्बार प्रश्न झेल्नुपरे पनि द्वन्द्वकालीन घटनाको विश्वसनीय प्रक्रियाबाट छानबिन गरी दोषीलाई कारबाही र पीडितलाई न्याय दिनेतर्फ भने उनले खासै गम्भीरतापूर्वक पहल गरेको देखिँदैन ।
शान्ति सम्झौताका १६ वर्ष भइसक्दा पनि माओवादी नेताका साथै कतिपय सुरक्षा अधिकारी खुलेआम हिँडडुल गर्न सकिरहेका छैनन् । नेपालमा समेत उनीहरुमाथि अदालतदेखि अधिकारवादी समुदायले औंला उठाइरहेकै छ । युरोप, अमेरिका लगायत पश्चिमा मुलुकका राजदूतहरु सामूहिक रुपमै दबाब दिन दाहालका निवासमै पुगेका धेरै घटना छन् । गत वर्ष माओवादी सम्मिलित सरकारले गैरसांसद हैसियतमै गोविन्द बन्दीलाई कानुनमन्त्री बनाएर संक्रमणकालीन न्यायसम्बन्धी कानुन संशोधन गरी द्रूत प्रक्रियाबाट प्रक्रिया टुंग्याउन खोज्दा यस्तै दबाब झेलेका थिए । यति धेरै दबाब र त्रासका बीच न्यायको प्रक्रिया विश्वसनीय तवरबाट टुंग्याउन नचाहनुको कारण के हो रु यो भने बुझिनसक्नु छ ।
विस्तृत शान्ति सम्झौता भएको १६ वर्ष नाघिसक्यो । द्वन्द्वका पक्षधरले बन्दुक बिसाएको यतिका वर्ष भइसक्दा पनि समाजको घाउमा खाटा बसेको छैन । अनाहकमा पीडित बनेकाहरूका आँखा ओभाउन पाएका छैनन् । संक्रमणकालीन न्यायको आशामा बसेकाहरू अझै अड्डाअदालततिर नजर सोझ्याइरहेका छन् । तर न्याय दिने नाममा उनीहरुलाई बारम्बार झुक्याउने काम मात्र भइरहेको छ । शान्ति प्रक्रिया निष्कर्षमा पुर्याउन भनेर सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानविन आयोग गठन पनि गरिए । तर, ती देखाउने दाँत मात्र भए ।
संक्रमणकालीन न्यायको टुंगो नलगाउँदा त्यसको असर पीडित पक्षलाई मात्रै परेको छैन, स्वयम् माओवादी नेतृत्व पनि पाइलापाइलामा प्रताडित बन्नुपरेको छ । पीडितका आँखा छल्दै र भेटिएकालाई आश्वासनको पन्तुरा थमाउँदै हिँड्नुपरेको छ । माओवादी नेतृत्व विदेश जान पनि धकाउँछ । किनभने, उसको थाप्लामाथि द्वन्द्वकालीन मुद्दाको तरबार झुन्डिइरहेको छ ।
माओवादी अध्यक्ष पुष्पकमल दाहालले तेस्रोपटक सरकारको नेतृत्व गरिरहेका छन् । यही बेला सर्वोच्च अदालतले समेत उनका सार्वजनिक अभिव्यक्तिलाई लिएर न्यायिक जाँच गर्ने भनेको छ । दाहालको थाप्लोमाथिको तरबार धारिलो बन्दै गएको संकेत हो यो । यी घटनाक्रमले द्वन्द्वकालीन ज्यादतीका पीडितलाई न्याय दिनुको साटो थप छलछामको बाटो अपनाए जुनसुकै बेला यसको महँगो मूल्य भुक्तान गर्नुपर्नेछ ।
यो घरेलु राजनीतिक मामिलाजसरी अल्मल्याउँदै र ढाकछोप गर्दै जान मिल्ने विषय पनि होइन । मानव अधिकार विश्वकै चासोको विषय हो । अन्तर्राष्ट्रिय क्षेत्राधिकार आकर्षित हुने मुद्दा हो । आफ्नै देशभित्र विश्वसनीय प्रक्रियाबाट यसलाई निप्टारा नलगाए विदेश जाँदा मात्र होइन, यहीँ आएर विदेशीले हामीलाई ठेगान लगाउन सक्नेछन् । त्यसैले त्रास बोकेर भागीभागी हिँड्ने होइन, न्याय र कानुनप्रति इमानदार बन्नु नै प्रचण्डका लागि श्रेयष्कर देखिन्छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८