• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

काठमाडौंमा क्वात्राको घरदैलोले उत्पन्न संशय र कम्फर्टेबल राष्ट्रपतिको खोजी

  • खबरदाता

काठमाडौंमा क्वात्राको घरदैलोले उत्पन्न संशय र कम्फर्टेबल राष्ट्रपतिको खोजी

फागुन २, २०७९

 

 

काठमाडौं । जबजब नेपाली राजनीति अस्थिर र तरल हुन्छ, भारतीय प्रशासक र सुरक्षा अधिकारीको सक्रियता बढ्छ । यतिखेर भारतीय विदेश सचिव विनयमोहन क्वात्रा नेपाल आएर प्रभावशाली नेताहरुका घरदैला चहार्दै छन् ।सोमबार काठमाडौं आएका उनले सुरुमा सचिवस्तरीय द्विपक्षीय संयन्त्रको बैठकमा भाग लिए । यसअघि गत भदौमा भारतको राजधानी नयाँ दिल्लीमा यस संयन्त्रको बैठक बसेको थियो । विगतमा लामो समय अवरुद्ध भएको र नेपालले सीमा अतिक्रमणको विषय उठाउँदा द्विपक्षीय सम्बन्ध नै चिसिएको सन्दर्भमा नियमितरुपमा बैठक बस्नुलाई नै उपलब्धि मान्न सकिने एकथरी कूटनीतिज्ञ बताउँछन् । लामो समय अवरुद्ध रहेको यस संयन्त्रको बैठक नियमित हुन नसकिरहेका बेला पछिल्ला ५ महिनाको बीचमा दोस्रोपटक हुनु सुखद पक्ष पनि हो । तर त्यो बैठक देखाउने दाँत मात्र थियो भन्ने कुरा कुनै ठोस निर्णय वा निकास सार्वजनिक नगरिनुले स्पष्ट पार्छ ।

नेपालका मुख्य चासो र सरोकारका विषयमा भारत पन्छिँदै आएको छ । भारतीय विदेश सचिवका रुपमा क्वात्राको यो भ्रमण पनि दुई देशका स्थायी संयन्त्रबाट ठोस निकास खोज्नेभन्दा बैठकको औपचारिकता पूरा गरी यही बहानामा तरल राजनीतिमा आफ्नो उपस्थिति देखाउन केन्द्रित बन्न पुगेको छ । भन्नलाई त बैठकमा द्विपक्षीय सम्बन्धका विविध आयामको समीक्षा भएको भनिएको छ । यातायात सम्पर्कदेखि व्यापार, पारवहन, ऊर्जा, कृषि, शिक्षा, संस्कृति, स्वास्थ्य अनि जनस्तरका सम्बन्धमा पनि कुरा भएको दुवै पक्षले भनेका छन् ।तर यी र यस्ता विषयमा जतिसुकै कुरा भए पनि नेपालको मुख्य चासो पश्चिमोत्तर नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा भारतीय पक्षबाट भएको सीमा अतिक्रमण हो । नेपाली भूमिमा भारतीय सुरक्षाफौजको उपस्थिति र त्यहाँ नेपालको सहमतिबेगर उसले जबरजस्ती बनाइरहेका फौजी तथा यातायात संरचना नेपालका चासो हुन् । यी विषय समाधानका लागि नेपालले बारम्बार कुरा उठाए पनि भारत पन्छिँदै आएको छ ।

नेपाली भूभागलाई भारतले आफ्नो राजनीतिक नक्सामा राखेको विषयमा नेपालले विरोध जनाउँदा लामो समय दुई देशबीचको सम्बन्ध नै चिसियो । गत वर्ष प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणका क्रममा समकक्षी नरेन्द्र मोदीसँगको भेटमा यो विषय उठाएको संयुक्त पत्रकार सम्मेलनमा बताउँदा त्यहाँका तत्कालीन विदेश सचिव हर्षवर्धन शृंगलाले तत्कालै पत्रकार सम्मेलन गरी खण्डन गरेका थिए । यो राजनीतिक तहमा उठाउने विषय नभएको भन्दै उनले स्थापित दुईपक्षीय संयन्त्रमा कुरा गर्न सकिने बताएका थिए ।उनले भन्न खोजेको स्थापित संयन्त्र दुवै देशका परराष्ट्र सचिवस्तरीय बैठक नै थियो । त्यसपछि गत भदौ २८ र २९ मा नयाँदिल्लीमा यस संयन्त्रको बैठक बसेको थियो । बैठकमा नेपालका परराष्ट्र सचिव भरतराज पौड्याल नै गएका थिए । त्यतिबेला दुई पक्षबीच सीमा समस्याबारे कुरा भएको नेपालका तर्फबाट जारी विज्ञप्तिमा उल्लेख थियो । तर भारतीय पक्षको विज्ञप्तिमा त्यो पनि उल्लेख थिएन । यसपालिको बैठकमा कुरा भयो कि भएन भनेरसमेत नेपाल वा भारत कुनै पनि पक्षले स्पष्ट उल्लेख गर्न चाहेको छैन ।

त्यसो त नेपालले भारतसँग थप हवाई मार्गका लागि बारम्बार आग्रह गरिरहेको भए पनि उसले त्यसमा समेत सहयोगी भाव देखाएको छैन । यसपालि समेत नेपालले यसका लागि विशेष आग्रह गर्दा भारतले ठोस प्रतिबद्धता जनाएन । यो उसको पुरानै शैली हो । जब नेपालका सरोकारका विषय आउँछन्, अनि उसले बेवास्ता वा विषयान्तरको रणनीति अपनाउँछ ।अझ आपत्तिजनक त के छ भने द्विपक्षीय संयन्त्रको बैठकको औपचारिकता हतारहतार पूरा गरी भारतीय विदेश सचिव क्वात्रा राजनीतिक दौडभेटतिर लागे । उनले सोमबारै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवालगायतलाई भेटवार्ता गरे । शिष्टाचार भेटका नाममा भइरहेको उनको दौडधूपको शृंखलालाई सत्ता गठबन्धनमा आएको खटपट र आसन्न राष्ट्रपति चुनावबाट अलग राखेर हेर्न सकिँदैन ।

द्विपक्षीय संयन्त्रका नाममा पनि हामीलाई बैठकका लागि बैठक चाहिएको छैन । बैठकबाट सार्थक निकास चाहिएको छ । न्यायपूर्ण समाधान चाहिएको छ । हाम्रा मुख्य सरोकारमा भारतको समाधानमुखी व्यवहार चाहिएको छ । खासगरी लिपुलेक, लिम्पियाधुरा र कालपानीमाथि उसको अतिक्रमणको अन्त्य चाहिएको छ । तर भारतको व्यवहार समाधानमुखी छैन । उसले मूल मुद्दालाई विषयान्तर गरेर तपसिलका कुराहरुमा अल्मल्याउन खोज्छ ।योभन्दा पनि खेदजनक यो छ कि उसले हाम्रो राजनीतिक तरलतामा उसले आफ्नो अनावश्यक चासो र भूमिका देखाउन चाहन्छ । नेपाली नेताहरुको कमजोर नैतिक र राजनीतिक धरातलको दुरुपयोग गरी उसले यहाँको राजनीतिलाई आफ्नो काबुमा राख्न चाहन्छ ।

नयाँ निर्वाचनपछि बनेको सत्ता गठबन्धनले स्थिर र भरपर्दो आकार नपाइरहेका बेला देश राष्ट्रपतीय निर्वाचनको तयारी हुँदै छ । यही बेला क्वात्रा आएर राजनीतिक नेताका घरदैला चहार्नु र एकान्तमा मन्त्रणा चलाउनु कूटनीतिक शिष्टाचार र मर्यादाका कुनै मापदण्डभित्र पर्दैन । यदि कूटनीतिक संयन्त्रबाट नेपालले खोजेको निकास पाउँदैन र भारतीय कूटनीतिज्ञहरु आफ्नो दायरा नाघेर राजनीतिक नेतृत्वका दैला चहार्छन् भने त्यो हाम्रो सार्वभौमसत्तामाथिको हस्तक्षेप र घोर अपमान हो । यसमा सहभागी हुने प्रत्येक नेता विरोध, बहिष्कार र वितृष्णाका लायक छन् ।

  • प्रकाशित मिति : फागुन २, २०७९, मंगलवार ०६:२९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८