माघ २९, २०७९
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई यतिखेर कसरी पद जोगाउने भन्ने चिन्ता छ । उनको मुख्यमन्त्री पद कायम राख्ने कि हटाउने भन्ने हात नागरिक उन्मुक्ति पार्टीलाई छ ।
टीकापुर घटनाको मुख्य अभियुक्तका रूपमा जेलजीवन बिताइरहेका सो पार्टीका संरक्षक रेशम चौधरीलाई जेल मुक्त गर्ने वातावरण नबनाए मुख्यमन्त्री शाहको खैरत छैन । यसअघिका मुख्य मन्त्रीले त्यस विषयमा केही नगरेको भन्दै विश्वासको मत नदिएपछि एक महिनामै एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल नेतृत्वको सरकार ढलेको थियो ।घिल्लो सरकारको नियति देखेरै होला वर्तमान मुख्यमन्त्री शाह शनिबार चौधरीको घरमा पुगेर उनका परिवारसँग भेटघाट गरेका छन् ।उनले चौधरीको घरमै पुगेर परिवारका सदस्यलाई मात्र भेट गरेनन् की रेशम लगायतकालाई जेलमुक्त गराउन आफू लागिपर्ने आश्वासन दिए ।
उनले भने जस्तो चौधरीलाई जेल मुक्त गर्न त्यति सजिलो पक्कै छैन । नागरिक उन्मुक्ति पार्टीको माग पूरा नभए वर्तमान मुख्यमन्त्री शाहको हालत पनि यस अघिकै मुख्यमन्त्रीको जस्तो नहोला भन्न सकिदैन ।शाहले मुख्यमन्त्री भएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । जसका लागि २७ सांसदको समर्थन चाहिन्छ । यसअघि नेकपा ९एमाले० नेतृत्वको सरकार नागरिक उन्मुक्तिले साथ नदिएपछि एक महिनामै ढलेको थियो । शाहले विश्वासको मत पाउने दाबी गरिरहेका छन् ।
संविधानको धारा १६८ को उपधारा ३ अनुसार सबैभन्दा ठूलो दलको हैसियतले मुख्य मन्त्रीमा नियुक्त शाहले एक महिना भित्र विश्वासको मत लिनु पर्नेछ । तर शाहलाई पनि विश्वासको मत लिन सहज छैन् ।शाहसँग कांग्रेसका १९ सहित नेकपा एकीकृत समाजवादीका ४ र स्वतन्त्र १ सांसद गरी २४ जनाको साथ छ ।५३ सदस्यीय प्रदेश सभामा मुख्यमन्त्रीलाई विश्वासको मत पाउन कम्तिमा २७ सांसद आवश्यक पर्छ । शाहलाई अझै ३ सांसद आवश्यक पर्छ । फागुन २५ सम्म २७ मत पुर्याउन नसके शाहले पनि एमाले नेता राजेन्द्र सिंह रावलकै नियति बेहोर्नु पर्नेछ ।
तर अघिल्लो सरकारमा सहभागी भएको माओवादी केन्द्रलाई सरकारमा ल्याउन सकिने विश्वासमा मुख्यमन्त्री शाह छन् ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कांग्रेसले विश्वासको मत दिए जस्तै यहाँ पनि माओवादीले विश्वासको मत दिन सक्ने सम्भावना छ ।सुदूरपश्चिम प्रदेशमा सरकार बनाउन निर्णायक ७ सांसद रहेको नागरिक उन्मुक्ति पार्टी संस्थापक नेता रेशम चौधरीको रिहाइलगायतको माग पूरा नभएसम्म सरकारलाई समर्थन नगर्ने पक्षमा छ । आगामी ३० दिनभित्र शाहले संविधानको धारा १६८ को उपधारा ४ अनुसार विश्वासको मत पाउन नसके उपधारा ५ अनुसार सरकार गठन प्रक्रिया अघि बढ्न सक्छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८