• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

राष्ट्रपतिको चुनावअघि नै सत्ता समीकरण उल्टिँदै, ३ प्रदेशमा कांग्रेस मुख्यमन्त्री !

  • खबरदाता

राष्ट्रपतिको चुनावअघि नै सत्ता समीकरण उल्टिँदै, ३ प्रदेशमा कांग्रेस मुख्यमन्त्री !

माघ २५, २०७९

 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालका लागि वर्तमान सत्ता समीकरण घाँडो भइसकेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीकै पहलमा प्रधानमन्त्रीको कुर्सी पाउन सफल भए पनि माओवादी अध्यक्ष दाहाल अब एमालेबाट मुक्ति खोजिरहेका छन् । यसका लागि उनले पुर्‍याउनुपर्ने लगभग सबै अंग पुर्‍याई पनि सकेका छन् ।दाहाललाई फकाउन एमाले अध्यक्ष ओली दिनदिनैजसो बालुवाटार धाउँदै छन् । उनले जति तारेख धाए पनि अब दाहालको मन ओलीतिर फर्किने देखिँदैन । किनभने, दाहाल फेरि कांग्रेस सभापति शेरबहादुर देउवाको मोहनीमा लठ्ठिइसकेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीलाई सत्ताबाट सडकमा पुर्‍याउँदा एक तहको सफलताको अनुभव गरिसकेका दाहाल अब चाँडै नेकपा एमालेलाई यसैगरी सडकमा धकेल्दै छन् । त्यसका निम्ति उनले पर्याप्त संकेत पनि गरिसकेका छन् । एमाले अध्यक्ष ओलीले भनेको मान्न दाहाल छाडिसकेका छन् । ओलीलाई अटेर गर्नु भनेको दाहालका निम्ति एमालेको उपयोगिता सकियो भन्नु नै हो ।

दाहालले राष्ट्रपतिमा एमालेलाई साथ नदिने प्रस्ट भनिसकेका छन् र यो कुरा भन्दै हिँडेका छन् । यसले पनि अब दाहाल र ओलीबीचको बार्दली सहमतिको पटाक्षेप भइसकेको प्रस्ट हुन्छ । त्यसबाहेक राष्ट्रिय स्वतन्त्र पार्टीलाई गृह मन्त्रालय दिन अस्वीकार गर्नु बार्दली सहमतिको जगै उखेल्नु हो । अब दाहालले राप्रपाका मन्त्रीहरुलाई यसैगरी सरकारबाट हट्न बाध्य पार्दै छन् । त्यसका निम्ति उनले राजनीतिक आवरण बनाएका छन्– राप्रपाका नेताहरुको संघीयताविबरोधी अभिव्यक्ति । यदि राप्रपाको यस्तै अडानका कारण सहकार्य गर्न मन नलागेको हो भने दाहाललाई त्यो पहिला नै जानकारी नभएको होइन । आफू सत्तामा पुग्न त्यही संघीयताविरोधी राप्रपा प्रिय लाग्यो । अहिले कांग्रेसको उधारो टेवा पाएपछि त्यही राप्रपालाई शत्रु करार गरेर दाहाल आफूलाई क्रान्तिकारी देखाउन तयार भएका छन् ।

पुस १० मा माओवादी अध्यक्ष दाहाललाई प्रधानमन्त्री बनाउन सात दलले समर्थन गरे । त्यतिखेर साथ दिएका दलले समर्थन फिर्ता लिएका त छैनन् तर सत्ता गठबन्धनको राजनीतिक धरातलमा टर्कीको भूकम्पमा भन्दा ठूला धाँजा फाटिसकेका छन् । आफूले भनेअनुसार नभएको भनेर जनता समाजवादी र नागरिक उन्मुक्ति पार्टीले सरकारमा सहभागी हुन नमानेको अवस्थामा गठबन्धनको तेस्रो ठूलो दल सरकारबाट अलग भइसकेको छ । गठबन्धनमा रहेकै दलले गठबन्धनको औचित्यमाथि प्रश्न उठाउन थालेका छन् । यसले अब राष्ट्रपतिको चुनावसम्म पनि यो गठबन्धन नटिक्ने निश्चित भएको छ ।

मंसिर ४ को निर्वाचनमा ८९ सिटसहित नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बने पनि ऊ सरकारमा सहभागी हुन पाएन । दोस्रो ठूलो दल एमालेले सात दलको गठबन्धन बनाएर दाहाललाई प्रधानमन्त्रीको कुर्सीमा पुर्‍यायो । उनलाई पुस १० मा १६९ सांसदले समर्थन गरे । तीमध्ये अहिलेसम्म एक सांसदले पनि समर्थन फिर्ता लिएका छैनन् । दाहाल आफ्नो कुर्सी सुरक्षित राखेर बाँकी सत्ता साझेदारलाई सडकमा पुर्‍याउन गठबन्धन संस्कार र संसदीय राजनीतिका सम्पूर्ण मूल्य मान्यतालाई बाग्मतीमा हुत्याएर कांग्रेसको काखमा हनिमुन मनाउन जाँदै छन् ।

मन्त्रालय भागबण्डामा कुरा नमिलेर जनता समाजवादी पार्टी जसपा अझै सरकारमा गएको छैन । जसपा खासगरी राष्ट्रिय योजना आयोगका पदाधिकारीको नियुक्ति र राष्ट्रियसभा उपाध्यक्षको निर्वाचनमा आफूसँग सल्लाह नगरेको भनेर थप चिढिएको छ । उसले गठबन्धनको औचित्यमाथि नै प्रश्न उठाउन थालिसकेको छ ।गठबन्धन सात दलीय भए पनि पहिलो चरणमा तीन दल मात्र सरकारमा सहभागी भए । पुस ११ गते पहिलो चरणमा सरकारमा सहभागी भएको राष्ट्रिय स्वतन्त्र पार्टी गृह मन्त्रालय नपाएपछि ४२ दिनमै सरकारबाट बाहिरिएको छ । उसले समर्थन फिर्ता नलिए भने पनि गठबन्धन सरकारबाट हटेपछि राजनीतिमा योभन्दा ठूलो विरोध र प्रतिद्वन्द्विता अर्को के होला

स्वतन्त्र पार्टीको बहिर्गमनपछि गठबन्धनको सबैभन्दा ठूल दल एमाले प्रधानमन्त्री दाहालसँग थप सशंकित बनेको छ । सरकारमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमत पार्टी पनि प्रधानमन्त्रीसँग सन्तुष्ट छैनन् । राप्रपाका मन्त्रीले संविधानविपरीत हिन्दु धर्म र संघीयताको वकालत गरेको भनेर संसदभित्रै विरोध भएपछि दाहाललाई निहुँ खोज्न बहाना मिलेको छ । नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीको रिहाइको माग पूरा गर्न चासो नदिएको भनेर असन्तुष्टि जनाइरहेका बेला कैलाली २ बाट निर्वाचित अरुण चौधरीलाई डेढ दशक पुरानो घटनामा पक्राउ गरिएपछि समर्थन फिर्ता लिने संकेत गरिसकेको छ ।

माओवादी यो गठबन्धन सक्दो चाँडो भत्काउन चाहन्छ र राष्ट्रपतिको निर्वाचनअघि नै कांग्रेससँगको हिसाब मिलाइहाल्नुपरेको छ उसलाई । त्यसअघि उसले प्रदेश सरकारको लेनदेन मिलाउने प्रयास गरिरहेको छ । सुदूरपश्चिममा एमालेका मुख्यमन्त्री राजेन्द्र रावललाई विश्वासको मत नदिने उन्मुक्तिको अडानले दाहाललाई नै सजिलो भएको छ । त्यहाँ दाहालको अपेक्षाअनुसारै कांग्रेसले सरकार बनाउनेछ । कांग्रेस त्यहाँको सबैभन्दा ठूलो दल हो । अहिले ठूलो दलको हैसियतमा मुख्यमन्त्री कांग्रेसबाट नियुक्त गरिहाल्ने र पछि माओवादीले विश्वासको मत दिने गरी सुदूरपश्चिमको कुरा मिलाइँदै छ । त्योसहित अरु ३ प्रदेशको मुख्यमन्त्री कांग्रेसले पाउनेछ । प्रधानमन्त्रीमा दाहाललाई नै निरन्तरता दिने वचन देउवाले दिएका छन् ।

सत्ता गठबन्धनमा एमाले ध्रुव कमजोर बन्दै गएको र दाहालले ओलीलाई टेर्न छाडेको कुरा उच्चस्तरीय संयन्त्रमा पनि देखिन्छ । सत्ता गठबन्धनमा असन्तुष्टि बढ्दा तथा राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छोड्दा पनि ओलीले न त्यस संयन्त्रको बैठक बसाल्न सकेका छन् न त दाहालले नै गठबन्धनको बैठक बोलाउने जाँगर देखाएका छन् । यी सबै लक्षण हेर्दा राष्ट्रपतिको चुनावअघि नै सत्ता समीकरण उल्टिएर सबै हिसाबकिताब मिलिसक्ने प्रस्ट संकेत देखिएका छन् । यो समीकरण उल्टाएपछि दाहाल स्याबासी खान भारत जानेछन् ।

  • प्रकाशित मिति : माघ २५, २०७९, बुधवार ०६:२९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८