• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

आफैंंभित्रको विवादले सत्तागठबन्धन फुटको डिलमा !

  • खबरदाता

आफैंंभित्रको विवादले सत्तागठबन्धन फुटको डिलमा !

माघ १८, २०७९

 

 

राष्ट्रपति र गृहमन्त्रीको विषयलाई लिएर सत्तागठबन्धन फुटको नजिक पुगेको छ । सरकार गठन भएको डेढ महिनामै गठबन्धन धर्मराएको छ । एजेण्डा नमिले पनि सरकारमा एक ठाउँमा आएका दलहरुबीच एकअर्काप्रति चरम अविश्वास छ ।

कांग्रेससँगको गठबन्धन छाडेर एमाले नजिक पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेसहित ७ दलको समर्थनमा पुस १० गते प्रधानमन्त्री बनेका थिए । रिक्त गृहमन्त्री राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई दिने कि नदिनेबारे गठबन्धनमा मतभेद सुरु भएको छ ।

प्रचण्डलाई प्रधानमन्त्री बनाउँदा राष्ट्रपति एमालेले लिने सहमति भएकाले त्यसको कार्यान्वयन हुनुपर्ने एमालेको अडानछ । प्रधानमन्त्रीमा कांग्रेसको समेत विश्वासको मत पाएपछि माओवादी राष्ट्रपतिमा एमालेको विकल्पमा कांग्रेस देख्दैछ ।

सभामुखसहित महत्वपूर्ण मन्त्रालय एमालेको भागमा परेकाले अब राष्ट्रपति पनि एमालेलाई दिँदा भविष्यमा आफू कमजोर हुने त्रासमा प्रचण्ड देखिन्छन् ।
राष्ट्रपतिको विषयले अहिले एमाले र माओवादीबीच चिसो शुरु भएको छ । अझ यसमा गृहमन्त्री आफ्नो पार्टीले नपाए गठबन्धन छाड्ने राष्ट्रिय स्वतन्त्र पार्टीको चेतावनीले थप मलजल गरेको छ ।

प्रधानमन्त्री प्रचण्ड नागरिकता दुरुपयोग र दोहोरो राहदानीको विवादमा तानिएका गैरसांसद लामिछानेलाई गृहमन्त्री बनाउन तयार देखिएका छैनन् । लामिछाने जसरी पनि पुरानो जिम्मेवारीमा फर्कन हतारिएका छन् ।सत्तागठबन्धन आफैभित्रको विवादले फुटको डिलमा पुगिसकेको विश्लेषकहरुको टिप्पणी छ ।

प्रधानमन्त्री भएपनि गृह, अर्थ, परराष्ट्र, रक्षा मन्त्रालय आफुसँग नहुँदा कमजोर देखिएका प्रचण्डले अहिले रिक्त रहेको गृहमन्त्री आफैसँग राख्न चाहेका छन् ।
राहदानी छानविनकै क्रममा रहेका लामिछाने पुनः गृहमै पुग्ने चाहना र राष्ट्रपति नछाड्ने एमाले अडानका कारण अहिले सत्तागठबन्धनमा सकसमा छ ।

नैतिकता र सुशासनको नाराबाट राजनीतिमा उदाएका लामिछाने र उनले नेतृत्व गरेको पार्टीको सत्ताप्रति जसरी आशक्ति देखिएको छ। नागरिकता कायम गरे लगत्तै पार्टी सभापतिमा पुनर्स्थापित रवि लामिछानेले त्यसयता दुई पटक प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटिसकेका छन् । लामिछानेले दाहाललाई भेट्नुको एक मात्र उद्देश्य गुमेको उपप्रधान तथा गृहमन्त्री पद फिर्ता गर्नु नै हो।

  • प्रकाशित मिति : माघ १८, २०७९, बुधवार ०६:१२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८