माघ ७, २०७९
नेकपा एमालेका सांसद देवराज घिमिरे सभामुखमा निर्वाचित भएर कार्यभार सम्हालेका छन् । प्रतिनिधिसभाको १६७ मतसहित निर्वाचित भएका उनलाई सत्तागठबन्धनको पूरापूर समर्थन रह्यो भने प्रधानमन्त्रीलाई विश्वासको मत दिएको नेपाली कांग्रेसले सभामुखमा पूरापूर अविश्वास गरेको छ ।
सामान्यतः सभामुख संसदको सर्वसम्मतिले चुन्ने अभ्यास थियो । एकाधबाहेक अहिलेसम्मका प्रायः सभामुख सर्वसम्मतिमै चुनिएका हुन् । तर घिमिरेका पक्षमा सत्ता गठबन्धनका एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनमत र नागरिक उन्मुक्ति पार्टीका सांसदले सामुखमा मत दिए । यस्तै तीन स्वतन्त्र सांसद पनि उनका पक्षमा उभिए । तर कांग्रेस, नेकपा एस, लोसपा लगायत केही दलका १०० सांसद उनको विपक्षमा उभिए ।
कांग्रेसले सभामुखमाथि सुरूमै शंका गरेको छ । संसदमा घिमिरेको भूमिका के(कसो रहन्छ भन्ने कुरा अझै अनुमानकै विषय छ । उनले सदन कति बुझेका छन् र सभामुखको भूमिकाप्रति कति गम्भीर छन् भन्ने हेर्नै बाँकी छ । अहिलेलाई उनको देखिने चिनारी हो कि उनी झापा–२ बाट निर्वाचित सांसद हुन् । प्रतिनिधि सभा सदस्यका रुपमा उनको यो पहिलो कार्यकाल हो ।उनी यसरी एकाएक सभामुख हुनुको मुख्य कारण उनी झापाली हुनु नै हो । किनभने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना जिल्लावासीलाई पद र अवसरको भाग पुगेपछि मात्र देशका अरु क्षेत्र र समुदायलाई सम्झिन्छन् भन्ने स्थापितजस्तै भइसकेको एमाले नेताहरु बताउँछन् । एमालेमा छविलाल विश्वकर्मादेखि पृथ्वी सुब्बा गुरुङसम्म एक से एक संसदीय अभ्यासमा खारिएका नेता हुँदाहुँदै झापाका घिमिरे नै छान्नुले यो आरोप पुष्टि हुन्छ ।
घिमिरे ओलीकै कोटामा सभामुख भएको भन्ने किन पनि प्रमाणित हुन्छ भने यसका निम्ति पार्टीका कुनै कमिटीमा छलफल वा चुनाव भएन । एकैपटक बालकोटको बार्दलीबाट सिंहदरबारको पटांगिनीमा नाम आइपुगेको हो । त्यसमा एमाले मात्र होइन, सत्ता गठबन्धनका सबै दलले ताली पिटेका हुन् ।रोचक त के रह्यो भने प्रमुख प्रतिपक्षीको बेञ्च ओगटेको कांग्रेसले पनि विश्वासको मत दिएपछि राष्ट्रिय राजनीतिको कोर्स परिवर्तनको आशंका बढेको थियो । तर, सभामुखको निर्वाचनसम्म आइपुग्दा गठबन्धन एक ढिक्का रह्यो । सत्ता गठबन्धनले छुट्याएको मन्त्री नलिई कांग्रेससँग समानान्तर छलफल गरिरहेको जनता समाजवादी पार्टीले समेत एमाले उम्मेदवार देवराज घिमिरेको पक्षमा मतदान गर्यो । मन्त्रिपरिषद्को बैठकमा सहभागी भएर पनि विभागीय मन्त्रालयमा नगई असन्तुष्टि पोखिरहेको जनमत पार्टीले समेत घिमिरेलाई मत दियो ।
झापा आन्दोलनको पृष्ठभूमिबाट हुर्किएका घिमिरे २०५४ सालमा राष्ट्रियसभा सदस्य बनेका थिए । २०७५ मा नेकपा बनेपछि प्रदेश १ का अध्यक्ष भएका उनी प्रदेश १ को इन्चार्ज र एमाले स्थायी समिति सदस्य भएका बेला सभामुख चुनिएका हुन् ।यो त भयो पृष्ठभूमिको कुरा । अब उनको मूल्यांकन कसरी सभामुखको भूमिका निर्वाह गर्छन् भन्ने आधारमा हुनेछ । अबको चासोको विषय पनि यही बन्नेछ ।संसदीय प्रणालीमा प्रतिनिधि सभा प्रतिपक्षीको आवाज बुलन्द गर्ने थलो हो । त्यसैले संसदलाई प्रतिपक्षीको हो भन्ने गरिन्छ । तर, पछिल्लो समय संसद सत्ताको लाचार छाया बन्ने गरेको छ । अझ सभामुख त आफ्नो निष्पक्ष भूमिका बिर्सेर कुनै दल वा नेताका राजनीतिक दाउपेचको गोटी बनेका उदाहरण छन् । विशेषतः केपी शर्मा ओली प्रधानमन्त्री हुँदा संसद् चलायमान हुन नसकेको प्रश्न बढी नै उठ्यो ।
त्यसबेला सभामुख रहेका कृष्णबहादुर महरा र अग्नि सापकोटाले तटस्थ भूमिका निर्वाह गर्न सकेनन् । यी दुवैले एमसीसी प्रकरणमा निष्पक्ष भूमिका निर्वाह नगरी आफ्नो पार्टीका नेताको इशारामा सरकारले पठाएको प्रस्ताव घर्रामा थन्क्याएर कहीँ नभएको राष्ट्रिय सहमतिको राग अलापेका थिए । जबकि पछि शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा न सहमति खोजियो, न त दुई तिहाई नै ।संवैधानिक परिषदमा पनि उनीहरुले आफ्नो माउ पार्टीका नेताविशेषको इशारा नाघ्न सकेनन् र लामो समय संवैधानिक अंगहरुको नियुक्तिमा टाङ अड्याएर बसे । ओलीलाई असहयोग र अपमानीत गर्ने सिलसिलामा सदनभित्र पनि उनीहरुको भूमिका पक्षपातपूर्ण रह्यो । ओली र दाहालबीचको झगडामा अग्नि सापकोटा त रेफ्रीको भूमिका बिर्सेर मैदानमा आएका थिए । ओलीलाई विपक्षी बनाएर आफू पदमै बसीबसी मुद्दा हाल्न अदालत पुगे ।
त्यस्तै एमाले विभाजन हुनुको कारणसमेत तत्कालीन सभामुख सापकोटा भएको आरोप एमालेले लगाएको थियो । यो आरोप आधारहीन थिए । किनभने एमालेले पार्टीबाट हटाएका १४ समानुपातिक सांसदको सूचीबारे सदनलाई जानकारी नगराई सापकोटाले लुकाएर राखेका थिए । सापकोटाको भूमिकालाई लिएर नै एमालेले सात महिनाभन्दा लामो समय संसदको कामकारवाही अवरुद्ध पारेको थियो ।दलीय आग्रह र प्रभावबाट मुक्त भएर निष्पक्ष कार्यसम्पादन गर्नुपर्ने पदाधिकारी हो सभामुख । विगतमा महरा र सापकोटालाई जसरी माओवादी अध्यक्ष पुष्पकमल दाहालको रबर स्ट्याम्प बनेको आरोप लाग्यो ।
नवनिर्वाचित सभामुख घिमिरेको पहिलो चुनौती नै त्यस्ता आरोपलाई चिर्न सक्नु नै हुनेछ । यसकारण कि घिमिरेलाई पार्टीभित्र ओलीका विश्वासपात्र मानिन्छ । २०५३ असोजमा महाकाली सन्धि अनुमोदन गराउन ओलीले घिमिरेलाई रणनीतिक रुपमा प्रयोग गरेका थिए । त्यसबेला ३५ सदस्यीय केन्द्रीय कमिटीमा मत बराबर भएपछि वैकल्पिक सदस्यको पाँचौँ क्रममा रहेका घिमिरेलाई मताधिकार दिएर सन्धिको पक्षमा उभिने निर्णय एमालेले गरेको थियो । त्यही कारण पछि पार्टी नै विभाजित हुन पुगेको थियो ।निर्णायक घडीमा स्वविवेकभन्दा पनि नेतृत्वको हित हेर्ने हो भने आउँदा दिनमा सभामुखको तटस्थ भूमिका र गरिमामा क्षति पुग्न सक्छ ।
यसलाई चिरेर कार्यसम्पादन गर्नु र आफ्नो भूमिकालाई नेता र दलविशेषको प्रभावबाट मुक्त राख्नु नै उनको चुनौती हुने छ । त्यसैले पार्टी वा नेताविशेषको प्रभावबाट बाहिर निसक्न नसक्ने प्रवृत्तिलाई खण्डित गर्ने प्रमुख चुनौती नै नवनिर्वाचित सभामुख घिमिरेका सामु देखिन्छ । यसका निम्ति घिमिरेले आफ्ना पूर्ववर्ती सभामुखहरु कृष्णबहादुर महरा र अग्नि सापकोलाई नभई आफ्नै पार्टीका सुवास नेम्बाङलाई आदर्श मान्नुपर्छ । नेम्बाङबाटै उनले शालीन, भद्र, परिपक्व, समन्वयकारी र आफ्नो भूमिका एवं दायित्वप्रति जिम्मेवार व्यक्तित्वको अनुशरण गर्न सक्छन् ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८